शनिवार, आश्विन २० २०८०
असोज, २० रामेछाप । जिल्लाको उमाकुण्ड गाउपालिकमा उमाकुण्ड गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा रहेको क्षमतालाई प्रष्फुटन गर्ने र बैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको एक दिने बृहत माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो।

उमाकुण्ड गाउँपालिका वडा नं ४ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीमा आयाेजना गरेकाे प्रदर्शनी कार्यक्रममा गाउँपालिका भित्र रहेकाे सात वाट माध्यमिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीको उत्साहपूर्वक सहभागिता रहेको थियाे । उक्त प्रदर्शनी कार्यक्रममा विद्यार्थीद्वारा निर्मित विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर, केबुलकार, रकेट, मन्दिर, पहाड, दूरबिन साथै कृषिसँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरिएको थियो ।

मौसम प्रतिकुलताका बाबजुत पनि विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको प्रदर्शनी स्थलमा ७ वटा विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरु रहेका थिए ।

बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म चलेको माध्यमिक स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रममा एउटा विद्यालयबाट ४ जना विद्यार्थी सहित विषय शिक्षककाे सहभागिता रहेकाे थियो । उक्त विज्ञान प्रदर्शनी कार्यक्रममा उमाकुण्ड गाउँपालिका २ बाम्तीको सिद्धेश्वर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै रू ५ हजार पुरस्कार हात पारेको छ । त्यसैगरि श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती दोस्रो र कास्थेम माध्यमिक विद्यालय भुजी तेस्रो स्थान हासिल गर्दै क्रमशः ३ हजार र २ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रदर्शनीमा श्री जनता माध्यमिक विद्यालय कुबुँकास्थलीले सान्त्वना भएको छ ।

यस विज्ञान प्रदर्शनी कार्यक्रमले आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशीलतालाई अझै प्रोत्साहन गर्न अभिप्रेरित हुनेछ भन्ने गाउँपालिकाले अपेक्षा गरेकाे छ। साथै साे कार्यक्रमकाे मूल्यांकन समिति रहि विद्यार्थीहरूकाे प्रतिभालाई पारदर्शी र विवादरहित ढंगबाट मूल्यांकन गरिदिनु हुने सम्पूर्ण मूल्यांकन समितिका पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरेको छ।

विज्ञान प्रदर्शनी कार्यक्रम लागि विद्यार्थीलाई तयारी गराउनु हुने विषय शिक्षक तथा विद्यालय प्रशासनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सार्वजनिक विदाकाे दिनमा पनि विद्यालय खाेलेर विज्ञान प्रदर्शनी कार्यक्रमका लागि महत्त्वपूर्ण व्यवस्थापिकीय भूमिका निर्वाह सहित विद्यार्थी भाईबाहिनीहरूकाे उपस्थिति गराई कार्यक्रमकाे गरिमा बढाउन सहयाेग गरीदिनु भएकोमा सम्पूर्ण चण्डेश्वरी विद्यालय परिवार प्रति उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यक्रम गरिरहने प्रतिबद्धता ब्यक्त गरेको छ।