बुधवार, मंसिर २७ २०८०
मंसिर, २७ काभ्रे । काठमाडौं विश्वविद्यालको आज भएको २९ औं दीक्षान्त समारोहमा एक हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीहरुलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
दिक्षान्त समारोहमा विश्वविद्यालयका पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पीजीडीका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जना विद्यार्थी दीक्षित भएका थिए।

दिक्षित हुनेमा मेडिकल साइन्सका ७७७ जना, व्यवस्थापनका ४४८ जना, शिक्षाका २२५ जना, मानविकीका २०९ जना, विज्ञान समूहका १० १ जना, इन्जिनियरिङका ३९ जना, र कानुनका ३९ जना, दीक्षित हुने भएका छन्। ती मध्य भारत, श्रीलंका, मालदिभ्स लगायतका मुलुकका ११३ जना विदेशी विद्यार्थी पनि दिक्षित भएकाछन्।
स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स तर्फ १ जना र स्कुल अफ मेडिकल साइन्स अन्तर्गत मास्टर अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा ८ र स्कुल अफ एजुकेसन तर्फ मास्टर इन हाईअर एजुकेसनमा ९ जना दीक्षित भएका छन्।
काठमाडौ बिश्वबिद्धालयको दिक्षान्त समारोहमा उपकुलपती भोला थापाले चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजाने भन्दै १ हजार सैयाको अस्पताल निर्माण गर्ने जानकारी दिनुभयो। उपकुलपति प्राध्यापक भोला थापाले बुधबार विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा यसबारे जानकारी अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरमध्ये आधा काठमाडौं विश्वविद्यालयले उत्पादन गरेको भन्दै त्यस आधारमा चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल बनाउन लागेको बताए।
त्यसैगरी दिक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति प्रचण्डले स्थापनाको ३२ औं वर्षपछि विश्वविद्यालयले आफ्नै शिक्षण अस्पताल बनाउन लाग्नु सराहनीय भएको बताए। उनले त्यसका लागि विश्वविद्यालय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु। म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट यसमा सहयोगका लागि निर्देशन दिन्छु,’ उनले भने।

उनले बहुविधागत कार्यक्रम चलाएर अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण काठमाडौं विश्वविद्यालयले पेस गरेको बताए। काठमाडौं विश्वविद्यालयमा विदेशी विद्यार्थीले समेत अध्ययन गर्ने गरेका छन्। विश्वविद्यालयबाट हालसम्म दीक्षित विद्यार्थीमध्ये १२ प्रतिशतभन्दा धेरै विदेशी हुन्। बुधबार विश्वविद्यालयका १ हजार ८३८ विद्यार्थी दीक्षित भएका छन्।
उपकुलपति थापाले शिक्षाको अन्तर्राष्ट्रियकरण र विद्यार्थीलाई रोजगारी तथा उच्च शिक्षाको अवसर दिलाएर युवा ऊर्जा र सिर्जनशीलतालाई मुलुकभित्रै राख्न सकिने खाका पेस गरेका थिए।
दिक्षान्त समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड, माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री श्री प्रमिला कुमारी, डा. गौरीशङ्करलाल दास, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. अच्युतप्रसाद वाग्ले विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र दीक्षित हुने प्रिय विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो।
माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री श्री प्रमिला कुमारीज्यू, यस समारोहका प्रमुख अतिथि डा. गौरीशङ्करलाल दासज्यू काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यू विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माज्यू, विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. अच्युतप्रसाद वाग्लेज्यू , विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा आज दीक्षित हुने प्रिय विद्यार्थी एवं अभिभावकज्यूहरू सञ्चारकर्मी मित्रहरू , उपस्थित सम्पूर्ण महानुभावहरू !
काठमाडौं विश्वविद्यालयमा मङ्सिर महिनामै दोस्रोपटक आउँदै गर्दा उपकुलपतिज्यूले आफ्नो सम्बोधनमा भनेझैं मलाई पनि आफ्नै घर आएजस्तो महसुस भइरहेको छ । अघिल्लोपटक म मङ्सिर ८ गते यहाँ विशिष्ट सम्मेलनमा सहभागी भएको थिएँ, जहाँ नेपालभरका दुई दर्जन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीहरूको बृहत् उपस्थितिमा नेपालको उच्च शिक्षाको सुदृढीकरण र अन्तर्राष्ट्रियकरणका विषयमा गहन छलफल भएको थियो । नेपालको उच्च शिक्षाको वर्तमान र भविष्यप्रति साझा चिन्तनका लागि त्यो राम्रो अवसर थियो । काठमाडौं विश्वविद्यालयले यस्तो अभियानको नेतृत्व लिएर जसरी उच्च शिक्षा सुधारका लागि नीतिगत र व्यावहारिक छलफलको अवसर जुटायो, त्यसबाट उच्च शिक्षाको अबको बाटो तय गर्न विश्वविद्यालयहरूलाई मात्र नभएर नेपाल सरकारलाई समेत सहयोग पुग्ने विश्वास मैले लिएको छु ।
त्यस सम्मेलनमा उठाइएको नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई मैले गम्भीरतापूर्वक लिएको छु । आजको वैश्विक युगमा नेपालको शिक्षा मौलिक हुनुपर्ने त छँदैछ, साथसाथै अन्तर्राष्ट्रिय स्तरको पनि हुनु अत्यावश्यक छ । त्यस सम्मेलनबाट आएका नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने मेरो तर्फबाट हरसम्भव प्रयास हुनेछ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री त्यस सम्मेलनमा र आज पनि उपस्थित हुनुभएको हुँदा उहाँले यी विषयलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनतर्फ लैजान ठोस कदम चाल्नुहुनेछ ।
उपकुलपति प्राध्यापक भोला थापाज्यूले नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण र नेपाली विद्यार्थीलाई नेपालमा नै रोजगारी तथा उच्च शिक्षाको अवसर दिलाएर युवा ऊर्जा र सिर्जनशीलतालाई मुलुकभित्रै राख्नका लागि जुन खाका पेस गर्नुभएको छ, त्यो मलाई सराहनीय लागेको छ । प्राध्यापक थापाले भनेजस्तै दुबईमा आज समापन हुँदै गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको उपस्थिति गहन र बलियो रह्यो । त्यहाँ मैले जलवायु, न्याय र क्षतिपूर्तिको विषयलाई गम्भीरतापूर्वक उठाएको छु । नेपालको यो प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुटेरेसको विशेष साथ र समर्थनबाट पनि पुष्टि हुन्छ ।
मलाई अझ खुसी के कुरामा लाग्छ भने काठमाडौं विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहनुभएका प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ । कोप–२८ सम्मेलनमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले ऊर्जा सङ्क्रमण (इनर्जी ट्रान्जिसन) मा यस विश्वविद्यालयले हासिल गरेको प्राविधिक उपलब्धिलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग गहन छलफल गर्न सफल हुनुभएको छ । त्यसले बृहत् रूपमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पनि पाएको छ । त्यसका लागि म विश्वविद्यालय परिवारलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।
विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न, विशेषतः स्थानीय समुदायहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न एवम् नेपालका तर्फबाट हाम्रा खास मुद्दा र चासोहरूलाई मुखरित पारिरहन म विश्वविद्यालयका प्राध्यापक तथा अध्येताहरूलाई यस विश्वविद्यालयको कुलपतिको हैसियतले विशेष आग्रह पनि गर्दछु ।
काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय छ । यसबाट आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपायहरू, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयाम आदिका लागि बाटो खुलेको छ । त्यसैले नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न समेत म अनुरोध गर्दछु ।
काठमाडौं विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको सर्वविदित नै छ । तर पछिल्ला दशकमा विश्वविद्यालयले जसरी बहुमुखी रूपमा आफ्नो प्राज्ञिक दायरा विस्तार गरेको छ, त्यसबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको छ । त्यसैको एक उदाहरण चिकित्सा र कलाको सुन्दर संयोजनमार्फत सुरु भएको ब्याचलर इन योगिक साइन्स एन्ड वेलबिइङ कार्यक्रम हो । यो कार्यक्रम नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरणको एक कडी पनि हो ।
अझ पछिल्लो समय काठमाडौं विश्वविद्यालयले एक हजार शैयाको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा मलाई खुसी लागेको छ । काठमाडौं विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु । स्थापनाको ३२ औं वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ । यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु ।
विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु । म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट काठमाडौं विश्वविद्यालयलाई यसमा सहयोगका लागि निर्देशन दिन्छु । काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका छन् । भविष्यमा पनि थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रमहरू लागू गर्न म विश्वविद्यालय परिवारलाई अनुरोध गर्दछु ।
नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ । काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ ।
आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु । यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो । अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ ।
आज दीक्षित हुने विद्यार्थीलाई म विशेष अनुरोध गर्न चाहन्छु — तपाईंहरू यहाँ आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने प्रयत्न गर्नुहोस् । काठमाडौं विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश जानुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गर्दछु ।
अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ ।
अन्त्यमा, आज दीक्षित हुनुभएका सबै विद्यार्थीलाई बधाई दिँदै र उहाँहरूलाई गुणस्तरीय शिक्षा दिन अभिभावक र विश्वविद्यालयले गरेको योगदान र परिश्रमको उच्च कदर गर्दै म आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद !