मंगलवार, कार्तिक २० २०८१
कार्तिक, २० गते काठमाडौ । काठमाडौंका महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने छात्रावासलाई (hostel) ब्यबस्थित तथा एकरुपतामा ल्याउन नियमन गर्ने भएको छ। महानगरले छात्रावासलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफ्नो क्षेत्रभित्र संचालन भएका सम्पुर्ण छात्रावास ( Hostel ) लाई नियमन गर्ने भएको हो।
त्यसको लागि काठमाडौँ महानगरपालिका भित्र सञ्चालित छात्रावास (होस्टल) हरूले ३० दिन भित्र अभिलेखीकरण हुनुपर्ने भएको छ। महानगरपालिका शिक्षा विभागल एक सूचना जारी गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यालय समेतबाट छात्रावास सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका संस्थाहरूले निर्धारित समयमा आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ।
काठमाडौं महानगरपालिका छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा छात्रावास सञ्चालन गर्न काठमाडौं महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने साथै दफा (८) बमोजिमको अनुगमन समितिले स्थलगत अध्ययन तथा अवलोकन र सुपरीवेक्षण गरी मापदण्ड पूरा भएको वा हुने अवस्था देखिएमा छात्रावास सञ्चालन गर्न अनुमति दिने व्यवस्था रहेकाले छात्राबास (होस्टल)ले अभिलेखीकरण हुन कागजात पेश गर्न सूचना जारी गरेको छ ।
साथै महानगरपालिकाभित्र तत्कालिन जिल्ला शिक्षा कार्यालयसमेतबाट छात्रावास (होस्टल) सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी छात्रावास सञ्चालन गरिरहेका संस्थाहरुले गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र काठमाडौं महानगरपालिका छात्रावास (होस्टल ) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बमोजिम अभिलेखीकरणका लागि निवेदनमा उल्लिखित फाराम भरी कागजात संलग्न गरी अभिलेखीकरणका लागि यस विभागमा कागजात पेश गर्नु सूचित गरेको छ । साथै प्रचलित कानुनबमोजिम अनुमति नलिई सञ्चालन भएको पाइएमा कानूनबमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ ।
