सोमवार, चैत्र १७ २०८१
चैत, १८ गते। काठमाडौ बर्नहार्ट कलेजले १३३ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ। आइतबार काठमाडौको सोल्टी होटेलमा एक बिशेष समारोहबीच बर्नहार्ट कलेजका ब्यबस्थापन समितिका अध्यक्ष भुपेश छत्कुलीको सभापतित्वमा तथा त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. शिवलाल भुसालको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई दिक्षित गरेको हो।

समारोहमा प्रमुख अतिथि भुसालले विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै दिक्षित गर्नुभयो। उहाँले विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि काठमाडौ बर्नहार्ट कलेजले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो। नेपालकै पहिलो गुणस्तर सुनिश्चितताको प्रमाणपत्र (QAA) प्राप्त निजि शिक्षण संस्था भएकोले काठमाडौ बर्नहार्ट देशैभरको आकर्षणको केन्द्र भएको उहाँले बताउनुभयो।

दिक्षान्त समारोहमा बोल्दै बिशेष अतिथि तथा खल्ती एपका को-फाउन्डर अमित अग्रवालले विद्यार्थीहरुले आफ्नो क्षमता आफै पहिचान गर्नुपर्ने बताउँदै कुन बिषयमा बढी नम्बर आयो त्यो भन्दापनि आफुमा के क्षमता र रुचि छ ध्यान दिनुपर्ने बताउनुभयो । आफुले पढ्ने कुरा र उद्धमी गर्ने कुरा फरक हुन सक्ने भन्दै अग्रवालले जीवनमा परेको बेला पढेको कुरा काम लागोस तर जे पढेको छ त्यो मात्रै गरेर जीवन चल्छ भन्ने नहुन पनि सक्ने बताउनुभयो।

उहाँले विद्यार्थीहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने विचार राख्दै, उनीहरूलाई नेपालमै बसेर केही न केही नयाँ काम गर्न सकिने बताउनुभयो । साथै युवा विद्यार्थीहरु लहडमै बाहिर जानु गलत भएको उहाँको धारणा छ।

"नेपालमा अथाह सम्भावना छ, नेपाल उद्धमीहरुको हब बन्नसक्छ, आइटिको हब बन्नसक्छ" अग्रवालले भन्नुभयो, "सरकार स्मार्ट भएन भने तपाइहरुलाई त्यो मौका हो, सम्भावना पनि हो" उहाँले थप्नुभयो ।त्यस्तै अग्रवालले हामी गरिब होइनौं तर त्यस्तो सिकाइयो त्यो गलत छ भन्दै उहाँले नेपाल आइटिको हब बन्न सक्ने तथा प्रोग्रामिङको एकदमै राम्रो स्कोप रहेको बताउनुभयो। नेपालमा समस्या छ तर समस्या भित्र अथाह सम्भावना रहेकोले नकारात्मक तरिकाले मात्रै नसोच्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो। साथै राष्ट्रको करेन्सी भनेको युवा हो, युवा ल्याण्ड लक होइन ल्यान्ड लिङ मार्केट हौ, अग्रवालले भन्नुभयो ।

दिक्षान्त समारोहमा बोल्दै प्रमुख सल्लाहकार प्रा.डा. नारायण प्रसाद चापागाईंले यो युग विश्वव्यापीकरणको युग भएकोले विद्यार्थीहरुलाई संसारभरी अवसर रहेको बताउनुभयो। उहाँले दिक्षित हुने विद्यार्थीलाई बधाई दिँदै आफ्नो ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन आग्रह गर्नुभयो। साथै दिक्षान्त समारोह विद्यार्थीहरूको शैक्षिक उपलब्धिको माइलस्टोन र नयाँ अध्ययको सुरुवातको सन्देश दिने बताउनुभयो।

समारोहमा कलेज प्रमुख (प्रिन्सिपल) सहदेब सिग्देलले दिक्षित हुने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै आइटी तथा म्यानेज्मेन्ट क्षेत्रमा ग्लोबल लिडरहरु उत्पादन गर्न काठमाडौ बर्नहार्ट कलेज लागि परेको बताउनुभयो। विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् विद्यार्थी उत्पादन गर्ने मुख्य लक्ष्य राखेको काठमाडौ बर्नहार्टले पठनपाठन सँगसँगै विभिन्न क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै आएको कलेज प्रमुख सिग्देलले बताए ।

उहाँले काठमाडौ बर्नहार्ट कलेज संस्थागत शिक्षण संस्थामा नेपालको पहिलो क्युएए मान्यता पाउने कलेज भएको भन्दै कलेजले सैद्धान्तिक ज्ञान मात्र होईन प्रयोगात्मक ज्ञानमा हामी विशेष जोड दिने गरेको बताउनुभयो। काठमाडौ बर्नहार्ट कलेजको आफ्नै सुविधासम्पन्न भवन भौतिक संरचना रहेको र विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने मनसायले कलेजले बिभिन्न ‘ल्याब’को पनि व्यवस्था गरेको उहाँको भनाई छ।

समारोहको अनत्यमा सभापति तथा काठमाडौ बर्नहार्ट कलेजका अध्यक्ष भुपेश छत्कुलिले दिक्षित हुने विद्यार्थीहरुलाई बधाई दिनुभयो। उहाँले दीक्षित हुने विद्यार्थीहरुलाई सधै कलेजलाई सम्झीरहन र कुनै समस्या भए शेयर गर्न सक्ने बताउनुभयो।

उहाँले दीक्षित विद्यार्थीहरुलाई संसार भर जहाँ गएपनी आफ्नो देशलाई बढी महत्त्व दिन सुझाव दिनुभयो। साथै बर्नहार्टमा पढेर गएका विभिन्न ठाउमा उद्धम गरिरहेका पुर्व विद्यार्थी, दिक्षित हुँदै गरेका विद्यार्थीहरु र कलेज मिलेर आइटी उद्योग खोल्न सक्ने बारे सोच्नसकिने धारणा ब्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरुले तेस्तो प्रस्ताव ल्याए काठमाडौं बर्नहार्ट कलेज आइटी कम्पनी खोल्न तयार रहेको बताउनुभयो ।

दीक्षान्त समारोहमा काठमाडौ बर्नहार्ट कलेजका प्रमुख सल्लाहकार तथा त्रिभुवन विश्वविद्यालय प्रतिनिधि प्रा.डा. नारायण प्रसाद चापागाईं, निर्देशक नवराज अधिकारी, पुरुषोत्तम बिष्ट, रामचन्द्र थापाको बिशेष उपस्थिति का साथै कलेजका बिभागीय प्रमुख, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

