सोमवार, पौष ७ २०८२
काठमाडौँ। कुलेश्वर आवास क्याम्पसले BIT भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शनिवार नगरकोटस्थित एक प्यालेसको सभाहलमा BIT कार्यक्रममा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम क्याम्पस संचालन समितिका अध्यक्ष भेषनारायण दाहालको सभापतित्वमा प्रमुख अतिथि कृष्णहरि बास्कोटा रहनुभयो। त्यस्तै क्याम्पस प्रमुख मेघराज दुलाल, सहायक प्रमुख प्रकाश भण्डारी, गुठियार तथा स्कुल सहायक प्रधानाध्यापक सुरेश सुवेदी, BIT संयोजक नारायण जिसी लगायत फ्याकल्टीहरूकाे उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख मेघराज दुलालले BIT का दक्ष र सक्षम विद्यार्थी उत्पादन गर्दै राष्ट्रका विभिन्न क्षेत्रमा स्थापित हुने विश्वास लिइएको बताउनुभयो। उहाँले केवल प्रमाणपत्र लिनु मात्र उद्देश्य नभई सीप र ज्ञानले राष्ट्रलाई देन दिने विद्यार्थी उत्पादन गर्नु क्याम्पसको मूल लक्ष्य रहेको बताउँदै विद्यार्थीहरूलाई सोही अनुरूप मिहिनेत गर्न सुझाव दिनुभयो।

क्याम्पस प्रमुख मेघराज दुलालले क्याम्पसले गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा आफूहरू निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। साथै कुलेश्वर आवास माध्यमिक विद्यालयको स्थापनाकाल देखिको इतिहास संक्षिप्त रूपमा बताउनुभयो।

उक्त कार्यक्रममा BIT दोस्रो सेमेस्टरमा टप गर्ने पासाङ दोर्जे तामाङलाई रु. १० हजार नगद पुरस्कार तथा तेस्रो सेमेस्टरमा २० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने जानकारी क्याम्पस प्रमुखले दिनुभयो।

कार्यक्रममा बोल्दै BIT कोर्डिनेटर नारायण जिसीले विषय अध्ययन पश्चात विद्यार्थीले जागिर मात्रै नभई आफ्नै ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्टहरूको सञ्चालन गर्न सक्षम हुने बताउनुभयो। उहाँले अहिले भइरहेका जुनसुकै काम पनि आईटीसँग जोडिँदै गएकाले जनजीवन नै आईटीमय भएको र भविष्यमा पनि यसको थप महत्व बढ्दै जाने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्णहरि बास्कोटाले अहिलेको युगमा आईटी अपरिहार्य रहेकोले विद्यार्थीहरूले त्यसअनुरूप मिहिनेत गर्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख प्रकाश भण्डारीले प्रस्तुत गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई राष्ट्रकै चम्किलो तारा बनाउने अठोटसहित क्याम्पस अघि बढिरहेको बताए।

अन्त्यमा कार्यक्रमका सभापति तथा क्याम्पस संचालन समितिका अध्यक्ष भेषनारायण दाहालले विद्यार्थीहरूलाई आवश्यक पर्ने भौतिक तथा शैक्षिक सामग्री कमी हुन नदिने र विश्वस्तरीय गुणस्तरमा ध्यान दिने बताउँदै कार्यक्रम समापन गर्नुभयो।



