मंगलवार, माघ १४ २०८२
काठमाडौँ । काठमाडौँ स्कुल अफ सेन्ट्रल स्टेट (KCCS) को आठौं संस्करणको स्पोर्ट्स मिट भव्य रूपमा शुरु भएको छ। स्कुल/कलेजका अध्यक्ष राहुल यादवको सभापतित्वमा सोमबार एक भब्य कार्यक्रमका बिच Sports Meet 2082 शुरु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख सह–प्राध्यापक डा. दिपेन्द्र पराजुली रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा कालिमाटी प्रहरी वृत्तका प्रमुख मधु कुमार थापा र काठमाडौँ महानगरपालिका वडा नं. १३ का कार्यबाहक अध्यक्ष रामबाबु कोइराला रहनुभएको थियो।

प्रमुख अतिथि सह–प्राध्यापक डा. दिपेन्द्र पराजुलीले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेललाई केवल अतिरिक्त क्रियाकलाप नभई शिक्षाको अभिन्न अङ्गका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले अनुशासन, सहकार्य, नेतृत्व र आत्मविश्वास विकासका लागि विद्यालय तहदेखि नै खेलकुद र स्पोर्ट्स साइन्सलाई प्राथमिकता दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

स्पोर्ट्स मिट उद्घाटन समारोहमा स्वागत मन्तव्य एकेडेमिक डाइरेक्टर टंक प्रसाद गैरेले राख्नुभयो। गैरेले खेलकुदको माध्यमबाट शारीरिक, मानसिक तथा बौद्धिक विकास हुने उल्लेख गर्दै वर्तमान समयमा स्पोर्ट्स साइन्सलाई प्राथमिकता दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै खेलकुदलाई पढाइसँगै समान महत्व दिनुपर्नेमा जोड दिनुभयो।

स्पोर्ट्स मिटमा विद्यार्थी मात्र नभई अभिभावकहरूका लागि पनि विभिन्न खेल प्रतियोगिता आयोजना गरिएको छ।

स्पोर्ट्स मिटमा बास्केटबल, ब्याडमिन्टन, फुटसल, टेबलटेनिस, डोरी तान्ने, चेस, म्युजिकल चेयर, स्किपिङ, स्पुन रेस, रिले रेस, १०० मिटर दौड, हाईजम्प, लङजम्प, कबड्डी, मेमोरी गेम लगायत जम्मा १८ वटा खेल समावेश गरिएको अध्यक्ष राहुल यादवले जानकारी दिनुभयो।
