सोमवार, बैशाख ७ २०८३
काठमाडौं । विश्वविद्यालय अनुदान आयोग ले उच्च शिक्षामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित ‘राष्ट्रिय योग्यता परीक्षण सञ्चालन नियमावली, २०८२’ कार्यान्वयनको प्रक्रिया अघि बढाएको जनाएको छ।
आयोगका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बाट स्वीकृत उक्त नियमावली लागू भएसँगै अब विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्यापन गर्न राष्ट्रिय योग्यता परीक्षण अनिवार्य हुने भएको हो ।
नियमावलीले स्थायी दरबन्दी बाहेकका कार्यरत शिक्षक तथा शिक्षण पेशामा प्रवेश गर्न चाहने नयाँ जनशक्तिका लागि योग्यता परीक्षणको व्यवस्था गरेको छ। यसअनुसार परीक्षण पास नगरी विश्वविद्यालयमा पढाउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
नियम १७ मा कार्यरत शिक्षकसम्बन्धी प्रावधान, नियम १८ मा परीक्षणलाई नियुक्तिको आधार बनाउने व्यवस्था तथा नियम २० मा विश्वविद्यालय र उच्च शैक्षिक संस्थाको कर्तव्य तोकिएको छ। ती व्यवस्थाहरू प्रभावकारी कार्यान्वयनका लागि आयोगले सबै विश्वविद्यालयहरूलाई आवश्यक कानुनी परिमार्जन गर्न पत्राचार गरिसकेको जनाएको छ।
आयोगले यदि कुनै संस्थाले उक्त पत्र प्राप्त नगरेको भए यसै सूचनालाई आधार मानी नियमावली कार्यान्वयन गर्न आग्रह गरेको छ। नियमावली आयोगको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाइएको छ।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यस व्यवस्थाले विश्वविद्यालय शिक्षण प्रणालीमा पारदर्शिता, प्रतिस्पर्धा र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
