Jul 27 2026 | २०८३, श्रावण ११ गते

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी नियुक्त

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी नियुक्त

  • 159
    SHARES

  • सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी नियुक्त

    काठमाडौं, ३१ असार। सरकारले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी नियुक्त गरेको छ। बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको बैठकले सिफारिस समितिबाट योग्यताक्रममा पहिलो स्थानमा रहनुभएका प्रा. डा. जोशीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

    सोही बैठकले डा. भीमबहादुर चन्दलाई विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरेको छ। नियुक्तिपश्चात् शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

    यस अवसरमा मन्त्री पोखरेलले नियुक्ति प्रक्रिया मेडिकल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको बताउँदै नयाँ नेतृत्वले विश्वविद्यालयमा शैक्षिक तथा प्रशासनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यही वर्षदेखि विश्वविद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो।

    सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनअनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।

    को हुन् प्रा. डा. सुनिलकुमार जोशी?

    प्रा. डा. जोशी चिकित्सा शिक्षा, जनस्वास्थ्य तथा अनुसन्धान क्षेत्रमा लामो अनुभव भएका शिक्षाविद् हुनुहुन्छ। उहाँले 'Injury Prevention and Safety Promotion' विषयमा विद्यावारिधि गर्नुभएको छ। स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्यापन र अनुसन्धानमा सक्रिय रहनुभएका उहाँ यसअघि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका संस्थापक कुलपतिका रूपमा पनि कार्य गरिसक्नुभएको छ।

    उहाँ अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध रही अनुसन्धानमा समेत संलग्न रहनुभएको छ। एमडी, एमफिल, पीएचडी, पीजीडीडी र एफआरएसपीएचलगायतका शैक्षिक उपाधि हासिल गर्नुभएका जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धानमा सक्रिय योगदान पुर्‍याउँदै आउनुभएको छ।

    images
    बुधवार, आषाढ ३१ २०८३०८:०१:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार