बिहिवार, आश्विन २२ २०८३
जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको ११औँ सभा बैठक सम्पन्न भएको छ। जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोख्रेलको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम पारित गरेको छ। पारित बजेटमध्ये पुँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ।

विश्वविद्यालयले उक्त बजेटका लागि विश्वविद्यालय अनुदान आयोगबाट ३१ करोड २४ लाख ३० हजार रुपैयाँ तथा आन्तरिक आयस्रोतबाट १९ करोड ९२ लाख ७२ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। सभामा विश्वविद्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि समेत छलफल भएको थियो। प्रतिवेदनअनुसार विश्वविद्यालयमा गत आर्थिक वर्षमा २० वटा शैक्षिक कार्यक्रममा ५ हजार ९२७ विद्यार्थी अध्ययनरत रहेका छन्।
विश्वविद्यालयको प्राज्ञिक गरिमा र राष्ट्रिय दायरा विस्तार गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा सुविधायुक्त आङ्गिक क्याम्पस स्थापना गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय समेत सभाले गरेको छ। बजारको मागअनुसार व्यवस्थापन, कानून तथा सूचना प्रविधि (आईटी) विषय सञ्चालनलाई प्राथमिकता दिइने विश्वविद्यालयले जनाएको छ।
त्यस्तै, डीन पदको छनोट प्रक्रियालाई सहज बनाउन संगठन संरचना तथा व्यवस्थापन नियमावली, २०७५ को नियम १०० संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अवकाशप्राप्त प्राध्यापक वा विद्यावारिधि गरी सम्बन्धित विषयमा पाँच वर्षको विज्ञताको अनुभव हासिल गरेका विषयगत विज्ञलाई समेत डीन छनोटको दायरामा ल्याइएको छ।
सभाले कार्यकारी परिषद्का सदस्यमा विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायका डीन प्रा.डा. विद्यासागर वर्मा, व्यवस्थापन संकायका निमित्त डीन सहप्राध्यापक डा. सरोजकुमार ठाकुर तथा शिक्षकतर्फका उपप्राध्यापक राजीवकुमार पाण्डेयको मनोनयनसमेत अनुमोदन गरेको छ।
आगामी कार्यक्रमअन्तर्गत मधेश प्रदेशको बारा जिल्लामा आईटी विषयको अध्ययन–अध्यापन सञ्चालन गर्ने उद्देश्यले स्वीकृत महागढीमाई बहुमुखी आङ्गिक क्याम्पसको भौतिक पूर्वाधार, पठनपाठन तथा प्रशासनिक व्यवस्थापन अघि बढाउने निर्णय गरिएको छ।
यसैगरी धनुषाको नगराइन नगरपालिकाअन्तर्गत प्राप्त जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार नयाँ शैक्षिक भवन निर्माण सुरु गर्ने, एलएमएस तथा यूएनआई–क्याम्पस प्रणालीमार्फत पूर्ण डिजिटलाइजेसन लागू गर्ने, ‘रिसर्च एन्ड इनोभेसन’ संयन्त्र स्थापना गर्ने र दोस्रो दीक्षान्त समारोह आयोजना गर्ने लक्ष्य पनि सभाले अघि सारेको छ।
बैठकको प्रारम्भमा रजिष्ट्रार डा. जीवन काफ्लेले सभा सञ्चालन गरेका थिए भने उपकुलपति प्रा.डा. श्यामनारायण लाभले स्वागत मन्तव्यसहित बैठकको विषय प्रवेश गराएका थिए। सहकुलपति पोख्रेलको सम्बोधन, रजिष्ट्रार काफ्लेको धन्यवाद ज्ञापन तथा सामूहिक तस्बिरपछि सभाध्यक्षबाट बैठक विसर्जन गरिएको थियो।