बिहिवार, आश्विन २२ २०८३
काठमाडौं, असोज २२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाले ६४औँ ग्रेस लिस्टसहित आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ।
त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा त्रिभुवन स्मृति भवनमा बसेको सभाको वार्षिक दिवस तथा साधारण बैठकले ग्रेस लिस्ट र बजेट पारित गर्नुका साथै विभिन्न निर्णय तथा नियुक्तिको अनुमोदन गरेको हो।
सभाको ६७औँ वार्षिक दिवस बैठकले ६४औँ ग्रेस लिस्टमा समावेश २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ९५ हजार ५ सय ४० विद्यार्थीलाई समावेश गरेको छ।

ग्रेस लिस्टमा व्यवस्थापनतर्फ ४३ हजार १ सय ४२, शिक्षाशास्त्रतर्फ १९ हजार ५ सय ३३, मानविकी तथा सामाजिकशास्त्रतर्फ १५ हजार ४ सय ४१, कानूनतर्फ ३ हजार १, विज्ञान तथा प्रविधितर्फ ६ हजार ६ सय ८८, इन्जिनियरिङतर्फ ५ हजार १ सय ६०, चिकित्साशास्त्रतर्फ १ हजार ९ सय २०, कृषि तथा पशुविज्ञानतर्फ ४ सय ६३ र वनविज्ञानतर्फ १ सय ९२ विद्यार्थी छन्।
कुल ग्रेस लिस्टमा स्नातक तहका ७२ हजार ४ सय ४, स्नातकोत्तर तहका २२ हजार ५ सय ३३, एमफिलका २ सय ५३, पीजीडीएसका १ सय ८४ र विद्यावारिधिका १ सय ६६ विद्यार्थी छन्।
त्यस्तै, साधारण बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। पारित बजेटमध्ये ४९.३८ प्रतिशत आन्तरिक स्रोतबाट र ५०.६२ प्रतिशत नेपाल सरकारसँग माग गर्ने उल्लेख छ।
सभालाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको अभिभावक भएकाले विश्वविद्यालयले ‘थिङ्क ट्याङ्क’को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले विश्वविद्यालयका पाठ्यक्रममा आमूल परिवर्तन गरी रोजगारीमूलक उच्च शिक्षा उपलब्ध गराउनुपर्ने र समग्र शिक्षा क्षेत्रलाई मार्गदर्शन गर्ने संस्थाका रूपमा त्रिविले आफूलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो।
परीक्षा र नतिजा प्रकाशनमा हुने ढिलाइ अन्त्य गर्दै एक महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने, शैक्षिक क्यालेन्डरको अक्षरशः पालना गर्नुपर्ने तथा बेरुजु फर्छ्योट र आर्थिक अनुशासनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। मन्त्री पोखरेलले प्रशासनिक अधिकारको विकेन्द्रीकरण गरी शैक्षिक गुणस्तर र सुशासन सुनिश्चित गर्नुपर्ने तथा कृत्रिम बुद्धिमत्ताको सिर्जनशील र सचेत प्रयोग गर्दै त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे समाजलाई समेत सचेत गराउन विश्वविद्यालयले भूमिका खेल्नुपर्ने बताउनुभयो।
सभामा त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालय केवल ज्ञान प्रदान गर्ने संस्था नभई ज्ञान उत्पादन, अनुसन्धान, आलोचनात्मक चिन्तन, नवप्रवर्तन र राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने आधारशिला भएको बताउनुभयो। उहाँले पारदर्शिता, डिजिटल प्रणाली, जीवनोपयोगी शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई विश्वविद्यालयको केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभाको वार्षिक तथा साधारण बैठकमा त्रिविका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले ६४औँ ग्रेस लिस्ट तथा आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो। शिक्षाध्यक्ष प्रा.डा. अञ्जना महर्जन सिंहले दुवै बैठक सञ्चालन गर्दै कृतज्ञता ज्ञापन गर्नुभएको थियो।
साधारण बैठकमा सभासदहरू सत्रुघ्नप्रसाद गुप्ता, प्रा.डा. बसन्त ढकाल, डा. कल्पना लुइटेल, छत्रबहादुर कार्की, कमलराज सापकोटा, डा. शिवनारायण यादव, रेशु अर्याल ढुंगाना, विष्णु पोखरेल र दीपकराज जोशीलगायतले नीति, कार्यक्रम तथा बजेटमाथि धारणा राख्दै विभिन्न सुझाव दिएका थिए।
सभाले २०८३ साउन १ देखि असोज २१ सम्मको पुँजीगत खर्चलाई समर्थन गर्नुका साथै त्रिवि कार्यकारी परिषद्का सदस्य तथा त्रिवि पुनरावेदन आयोगमा भएका नियुक्तिहरूसमेत अनुमोदन गरेको छ।