शुक्रवार, आश्विन २३ २०८३
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आरआर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष लोकेश खड्का र त्रिभुवन विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिकमत बुढासहितका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका विद्यार्थीहरूलाई प्रहरी परिसर, भद्रकालीमा राखिएको छ।
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा स्ववियुको प्रतिनिधित्व हटाउने तयारी गरिएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका थिए। सोही विषयलाई लिएर विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीबीच विवाद उत्पन्न भएको थियो। घटनापछि प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गरेको हो।
विद्यार्थीहरूको पक्राउप्रति स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन विश्वविद्यालय क्याम्पसले गम्भीर आपत्ति जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग गरेको छ। स्ववियु अध्यक्ष दीपक राज जोशीले २०८३ असोज २३ गते जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउको घटनाको भर्त्सना गर्दै विश्वविद्यालयको स्वायत्तता, लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
विज्ञप्तिअनुसार असोज २२ गते विश्वविद्यालयका पदाधिकारी र केही विद्यार्थीबीच विवाद भएको थियो। त्यसपछि असोज २३ गते विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको र सहमति भइसकेपछि पनि स्ववियुका पदाधिकारी तथा विद्यार्थी पक्राउ गरिएको भन्दै स्ववियुले आपत्ति जनाएको हो।
पक्राउ पर्नेमा आरआर क्याम्पसका स्ववियु अध्यक्ष लोकेश खड्का, त्रिभुवन विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिकमत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, सदस्य तेजप्रकाश सन्ज्याल र विद्यार्थी रमन उपाध्याय छन्।
स्ववियुले त्रिभुवन विश्वविद्यालय ऐनअनुसार लोकतान्त्रिक अभ्यासबाट निर्वाचित विद्यार्थीको साझा संस्था भएकाले विश्वविद्यालयको नीति निर्माण तथा निर्णय प्रक्रियामा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने जनाएको छ। विश्वविद्यालय सभामा स्ववियुको प्रतिनिधित्व निषेध गर्न खोजिएको प्रयासविरुद्ध विद्यार्थीले निरन्तर दबाब दिएपछि विद्यार्थी प्रतिनिधिसहित सभा सञ्चालन गर्न प्रशासन बाध्य भएको पनि विज्ञप्तिमा उल्लेख छ।
‘विश्वविद्यालयको स्वायत्ततामाथि सरकारको यो नियन्त्रण कदापि स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ। विद्यार्थी, प्राध्यापक र कर्मचारी विश्वविद्यालयका अभिन्न अंग भएको उल्लेख गर्दै स्ववियुले विश्वविद्यालयभित्र उत्पन्न विवादलाई पक्राउ र नियन्त्रणको माध्यमबाट नभई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।
स्ववियुले पक्राउ परेका विद्यार्थीहरूको तत्काल रिहाइ गर्न माग गर्दै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
