आइतवार, माघ २ २०७८
काठमाडौ - नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पुर्ण शैक्षिक क्रियाकलाप बन्द गरि बैकल्पिक माध्यमद्वारा संचालन गर्नुपर्ने निर्णय गरेको छ।
बैठकले विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय गरेको हो।
यसअघि बिद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको भएपनी अब भने सम्पुर्ण शिक्षण संस्था, क्लब बन्द गर्नुपर्ने छ।
सबै प्रकारका आम सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ साल माघ मसान्तसम्म नगर्ने। गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न समेत निर्देशन दिएको छ।
विद्यालय, बिश्वबिद्धालय र कलेजका पूर्वनिर्धारित परीक्षा सबै किसिमका परीक्षा जनस्वास्थ्य पालना गरेर गराउने सरकारले निर्णय गरेको छ।
त्यसैगरी बैठकले १५ माघसम्म सिनेमा हल, जिम खाना सञ्चालनमा रोक लगाएको छ भने प्यार्टी प्यालेसमा ५० जनालाई मात्र प्रवेश दिइने, सपिङ मलमा २५ जना बढी सहभागी नहुन समेत आग्रह गरेको छ।
सरकारले मठ मन्दिर, गुम्बालगायतका धार्मिक स्थलहरूमा माघ मसान्तसम्म नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।
