बुधवार, माघ ५ २०७८
काठमाडौ माघ - ५ बुधबार। पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको बीएएलएलवी चौथो वर्षको परीक्षा केन्द्रमा आन्दोलनकारी विद्यार्थी र प्रहरी बिच झडप भएको छ।
बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा कोरोना सङ्क्रमित विद्यार्थीलाई एउटै परीक्षा हलमा राखिएको, सेनिटाइटजर लगायत अन्य कोभिड सुरक्षा मापदण्ड नअपनाइएको भन्दै झडप भएको हो।
जनस्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै विद्यार्थीहरुले परिक्षा केन्द्रमा तालाबन्दी गरे लगत्तै झडप भएको र केही विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको छ र केही विद्यार्थी घाइते समेत भएको बताइएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको जनाएको छ ।
विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले विद्यार्थीले कलेजको गेटमा तालाबनदी गरेको बताएका छन् ।
त्यसैगरी मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाईसँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए ।
उनीहरुले कोरोना संक्रमण भई अस्तालमा उपचार गराएका विद्यार्थीलाई समेत मौका परिक्षा दिनुपर्ने, अनलाईन प्रणालीबाट परिक्षा लिइनुपर्ने सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालना गराईनुपर्ने, एक बेच्चमा एक जना मार्फत विद्यार्थी राख्नुपर्ने लगायतका सर्त राखी परीक्षा केन्द्रमै आन्दोलन गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बीए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्ध नगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीहरूबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोप्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यार्थीहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा १ जना विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको प्रती आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले एक बिज्ञपति निकाल्दै उक्त घटनाका सम्बन्धमा आयोगको टोलीले अनुगमन गरिरहेको उल्लेख गरेको छ । ‘अनुगमनको क्रममा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको बुझिएको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सङ्क्रामक रोगको महामारी भएको अवस्थामा नागरिकको जीवनको रक्षा गर्नु राज्यको दायित्व हुने भएपनी झडप हुनु मानवअधिकार को हनन भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकी अपराध संहिताको दफा १०४ (१) मा कसैले कसैको ज्यानलाई खतरा पु¥याउन सक्ने किसिमको सङ्क्रामक रोग फैलाउन वा फैलिन सक्ने कुनै काम गर्न नहुने उल्लेख गरिएको छ ।’
साथै, नेपालको संविधानले स्वास्थ्य तथा शिक्षासम्बन्धी हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको सन्दर्भमा नागरिकको दुवै हकको सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने आयोगले प्रस्ट पारेको छ ।
