आइतवार, माघ ९ २०७८
काठमाडौं,माघ ८ । छुट अस्थायी करार शिक्षकद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
तिथिमितिको भेद गराई २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी नगराएको भन्दै सो समितिले राज्यले कुनै निश्चित मापदण्ड बिना आफूहरूलाई आन्तरिक प्रकृयाबाट छुटाई मौलिक हक अन्तर्गत समानताको हक तथा रोजगारीको हक मिचिएको भन्दै सर्वोच्च अदालतमा रीट दायर गरेका हुन ।
नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष तथा वरिष्ठ वकिल प्रेम बहादुर खड्कालाई लिएर समितिका अध्यक्ष अनिता थापा, उपाध्यक्ष राम बस्नेत, महासचिव ईन्द्रमणि सुनुवार लगायतको अगुवाइमा सो मुद्दा पेश गरिएको छ ।
सर्वोच्चमा गरेको रीट दर्ता नम्बर ०७८/०७८० रहेको वकिल खड्काले जानकारी दिए । उनका अनुसार छिट्टै पेशी तोकी वहस अघि बढ्नेछ ।
कुनै निश्चित मापदण्ड बिना आफूहरूलाई आन्तरिक प्रकृयाबाट छुटाईएको तथा खुला परीक्षामा उमेर हद समेत लगाईएकोमा त्यसलाई ऐन मार्फत सम्बोधन गर्न सरकारको ईच्छा शक्ति नदेखिएको र शिक्षक महासंघ लगायत विभिन्न शिक्षक संघ संगठन संग गरिएको पूर्व सम्झौता कार्यान्वयन गराउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण नदेखिएकोले अन्तिम विकल्पको रूपमा सर्वोच्च अदालत जाने निर्णय गरेको अध्यक्ष थापाले बताईन।
मुद्दा पश्चात् अध्यक्ष थापाले सबै शिक्षक मजदुर एकजुट हुनुपर्ने बताएकी छिन । अध्यक्ष थापाले भनिन-‘आउनुहोस् हामी सबै एकजुट भइ आन्दोलनलाई मुर्तरुप दिलाऔं।’अस्थायी करार दरबन्दीमा हाल झण्डै २२ हजार शिक्षक अध्यापनरत रहेको सो समितिले जनाएको छ।