आइतवार, माघ ९ २०७८
माघ ९, काठमाडौ - सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा सात विद्यार्थी संगठन आबद्ध संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । 

कयौँ दिनदेखि प्रदर्शनमा उत्रिएका सात विद्यार्थी संगठनले आइतबार काठमाडौँ मेडिकल कलेजको प्रशासनमा ताला लगाइदिएका हुन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजअगाडि टायरसमेत बालेर विरोध प्रदर्शन गरेका छन्।
शुल्कको विवाद नसुल्झाई भर्ना प्रक्रिया रोक्न चेतावनी दिए पनि कलेज प्रशासनले अटेर गरेको आन्दोलनरत विद्यार्थीहरुले दाबी गरेका छन्।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैँटौ, नेपाल विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनहरुले मेडिकल कलेजहरुले केही महिनायता जथाभावी शुल्क असुलेको भन्दै विरोध गरिरहेका छन्।
कलेज प्रशासनहरुले शुल्क व्यवस्थापन नगरेसम्म आन्दोलन निरन्तर अघि बढाइरहने पनि विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन्।
चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि ४० लाख २३ हजार २५० रुपैयाँ अध्ययन शुल्क निर्धारण गरे पनि केएमसीले अध्ययन अवधिभर करिब ६० लाख रुपैयाँ तिर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्न दबाब दिएको विद्यार्थीहरूको गुनासो छ ।
त्यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि आयोगले ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरे पनि विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरूबाट थप १५ लाख अतिरिक्त शुल्क माग गरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।