बिहिवार, माघ १३ २०७८
काठमाडौं । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालय कम्प्युटर साइन्स केन्द्रिय बिभागबिच सूचना प्रविधि विषयमा अध्ययनरत स्नातक तह अन्तिम बर्षका विद्यार्थीहरूलाई स्वयंसेवी पर्यवेक्षकको रुपमा देशभरका स्थानीय तहमा खटाउने भएको छ।
देशभरका जुनसुकै विश्वविद्यालय तथा क्याम्पसमा सूचना प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीले यसकालागी आवेदन दिन सक्ने विभागले जनाएको छ ।
सरकारले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समेतको सहभागितामा स्थानीय तह वस्तुगत विवरण (एलजी-प्रोफाइल) प्रणालीलाई अन्य सरकारी तहमा सञ्चालित प्रणालीमा अन्तर आवद्ध गराएर स्थानीय तहमा लाइभ अपडेटमा रहने गरी सञ्चालनको तयारी गरिरहेको छ ।
त्यसका लागि घरधुरी तहमा तथ्याङ्क संकलन गर्ने गणक, स्थानीय तहका पदाधिकारी, कर्मचारी तथा सरोकारवालालाई अभिमुखीकरण गर्न तथा गणकहरूबाट मोबाइल एपमार्फत संकलित तथ्याङ्कहरूको गुणस्तरीयता कायम गर्न स्वयंसेवी पर्यवेक्षक खटाउन लागिएको हो ।
स्थानीय स्तरमा कम्तिमा एक महिनाका लागि स्वयंसेवी पर्यवेक्षक (भोलेन्टियर सुपरभाइजर) परिचालन गर्न उक्त समझदारी भएको बताइएको छ । यसकालागी स्वयंसेवी पर्यवेक्षकमा कामगर्न चाहने इच्छुक विद्यार्थीले दश दिनभित्र विभाग समक्ष आवेदन दिनुपर्ने बताइएको छ। यसमा सहभागी जनाउने विद्यार्थीसँग ल्यापटप तथा स्मार्टफोन रहेको र नेपाली युनिकोडमा अनुभवी भएको हुनुपर्ने छ ।
आवेदन दिने मध्येबाट अन्तर्वार्ताका आधारमा सात सय ५३ जना स्वयंसेवी पर्यवेक्षक छनौट गरिने र त्यसपछि उनीहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा विभिन्न स्थानीय तहमा परिचालन गरिने विभागीय प्रमुख नवराज पौडेलले जानकारी दिए ।
यसकालागी आवेदन दिन https://accounts.google.com/signin मा गएर लग इन गरि आवेदन दिन सकिने छ।
आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, एसएलसी तथा एसईई लगायत हालसम्मको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कुनै अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो समेत संलग्न राख्नुपर्नेछ ।