आइतवार, माघ २३ २०७८
माघ, १३/ बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग छलफल गर्दै बजेट थप गर्नुपर्ने योजनाहरुको नाम माग्नु भएको छ । आइतबार जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै पौडेलले बजेट थपगर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नु भएको हो ।
जिल्लामा रहेका प्रमुख हरु संग छलफल गर्दै मत्री पौडेलले भने, “अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्दैछ, बजेट थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।”
आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउँन आग्रह गरे । उनले नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरु, विद्यालय, मोटरबाटो लगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिए ।
मन्त्री पौडेलले बुर्तिबाङमा रहेको निसीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अनुगमनकालागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ तत्काल जाने योजना रहेको सुनाए ।
तेस्तै बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताए । उनले भने, “बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्यमन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु र त्यसकालागि स्वास्थ्यकार्यालयले आवश्यक समन्वय गरिदिन पर्यो ।”
त्यसैगरी तोकिएकै समयमा स्थानीय चुनाव हुने भएकाले फागुनभरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्यनै रहेको बताए । ढाकलले सीसीएमसीसीको निर्णय अनुसार माघ मसान्तसम्म विद्यालय वैकल्पिक माध्यमबाट चलाउन निर्देशनदिएको पनि बताए ।