Oct 05 2026 | २०८३, आश्विन १९ गते

शिक्षक शिक्षा सुधारका लागि नीति र अभ्यास पुनर्संरचनामा जोड

शिक्षक शिक्षा सुधारका लागि नीति र अभ्यास पुनर्संरचनामा जोड

  • 67
    SHARES

  • शिक्षक शिक्षा सुधारका लागि नीति र अभ्यास पुनर्संरचनामा जोड

    काठमाडौं, असोज १८ । नेपालको शिक्षक शिक्षा प्रणालीलाई गुणस्तरीय, व्यावहारिक र समयअनुकूल बनाउन नीति तथा अभ्यासमा पुनर्संरचना आवश्यक रहेको राष्ट्रियस्तरको अनुसन्धानले देखाएको छ।

    त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयको राष्ट्रिय प्राथमिकताअन्तर्गत गरिएको ‘Teacher Education Programme in Nepal: Reorienting Policies and Practices’ शीर्षकको अनुसन्धानले शिक्षक शिक्षा सुधारका लागि पाठ्यक्रम, शिक्षक तयारी, शिक्षण अभ्यास, डिजिटल दक्षता, अनुसन्धान, मूल्याङ्कन र संस्थागत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको हो।

    त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायको नेतृत्व तथा CERID र ODEC को सहकार्यमा सम्पन्न अध्ययनले सातै प्रदेशका विभिन्न भौगोलिक क्षेत्र र शिक्षक शिक्षा सञ्चालन गर्ने विभिन्न प्रकृतिका क्याम्पसलाई समेटेको छ। अध्ययनमा ४७३ शिक्षक तथा प्राध्यापक र १ हजार ७९० विद्यार्थी सहभागी थिए।

    अनुसन्धानको नेतृत्व शिक्षा शास्त्र संकायका सहप्राध्यापक डा. विष्णु खनालले गरेका छन्। डा. कमल राज देवकोटा र डा. कमल प्रसाद आचार्य सह-अनुसन्धानकर्ताका रूपमा सहभागी थिए।

    1791187876939.jpg

    अध्ययनले शिक्षक शिक्षा कार्यक्रमलाई केवल शिक्षक उत्पादन गर्ने प्रक्रियाका रूपमा नभई विद्यालय शिक्षाको समग्र गुणस्तर निर्धारण गर्ने महत्वपूर्ण आधारका रूपमा हेर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि गुणस्तरीय विद्यार्थी प्रवेशदेखि शिक्षक तयारी, कक्षाकोठा अभ्यास, डिजिटल क्षमता, अनुसन्धान र मूल्याङ्कनसम्मका पक्षलाई एकीकृत रूपमा सुधार गर्नुपर्ने देखिएको छ।

    अनुसन्धानले शिक्षक शिक्षा कार्यक्रमको Context, Input, Process र Product चारै पक्षको पुनरावलोकन आवश्यक रहेको औँल्याएको छ। पर्याप्त स्रोत–साधन, दक्ष शिक्षक, आधुनिक तथा व्यावहारिक पाठ्यक्रम, प्रविधिमैत्री शिक्षण, नवप्रवर्तनात्मक अभ्यास र अनुसन्धानमा आधारित मूल्याङ्कन प्रणालीलाई प्राथमिकता दिनुपर्ने अध्ययनको निष्कर्ष छ।

    विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका शिक्षक शिक्षा सञ्चालन गर्ने संस्थामा स्रोत–साधन र संस्थागत सहयोगको असमानता रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता पनि अनुसन्धानले देखाएको छ। त्यस्तै शिक्षक शिक्षा नीति निर्माण र कार्यान्वयनमा विश्वविद्यालय, सरकार, शिक्षक शिक्षा संस्था र विद्यालयबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याइएको छ।

    शिक्षा शास्त्र संकायका डीन प्रा. डा. वेदराज आचार्यले अनुसन्धानलाई संकायको अनुसन्धान क्षमता र शिक्षक शिक्षा सुधारप्रतिको संस्थागत प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनले अध्ययनबाट प्राप्त प्रमाणलाई आगामी नीति, कार्यक्रम तथा शिक्षक शिक्षा सुधारमा उपयोग गर्नुपर्ने बताए।

    पूर्वडीन प्रा. डा. चित्रबहादुर बुढाथोकीले अनुसन्धानले नेपालको शिक्षक शिक्षा क्षेत्रका वास्तविक अवस्था, चुनौती र सुधारका सम्भावनालाई तथ्य र प्रमाणका आधारमा प्रस्तुत गरेको बताए। प्रा. वासुदेव काफ्लेले अध्ययनका सिफारिसलाई प्रतिवेदनमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

    प्रा. पेसल खनालले शिक्षक शिक्षा सुधारका लागि व्यावहारिक, सीपमुखी, अनुसन्धानमुखी र समसामयिक पाठ्यक्रम आवश्यक रहेको बताए। प्रा. सूर्यबहादुर थापाले शिक्षक शिक्षा कार्यक्रमको गुणस्तर विद्यालय शिक्षाको दीर्घकालीन गुणस्तरसँग प्रत्यक्ष जोडिने भएकाले अनुसन्धानले औँल्याएका सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे।

    त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयका निर्देशक प्रा. डा. ईश्वरप्रसाद कोइरालाले ठूलो नमुना र देशभरका विभिन्न क्षेत्रलाई समेटिएको अध्ययनले शिक्षक शिक्षा सुधारका लागि महत्वपूर्ण प्रमाण उपलब्ध गराएको बताए। उनले अनुसन्धानका निष्कर्षलाई कार्यान्वयनयोग्य नीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

    CERID का निर्देशक डा. राजेन्द्र कुँवरले शिक्षक शिक्षा सुधारलाई पाठ्यक्रम परिवर्तनमा मात्र सीमित गर्न नहुने बताए। शिक्षक तयारी, कक्षाकोठा अभ्यास, अनुसन्धान, डिजिटल प्रविधि, संस्थागत क्षमता र निरन्तर व्यावसायिक विकासलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो। शिक्षाध्यक्ष प्रा. डा. अन्जना सिंहले विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षकको व्यावसायिक क्षमता र संस्थागत वातावरणलाई समान प्राथमिकतामा राखेर शिक्षक शिक्षा कार्यक्रम सुधार गर्नुपर्ने बताइन्।

    समग्रमा, अनुसन्धानले नेपालको शिक्षक शिक्षा प्रणालीलाई समयअनुकूल, प्रविधिमैत्री, समावेशी, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा नीतिगत पुनर्विचार आवश्यक रहेको देखाएको छ। अध्ययनबाट प्राप्त प्रमाणलाई नीति र अभ्यासमा रूपान्तरण गर्न सके शिक्षक शिक्षाको गुणस्तर अभिवृद्धिसँगै समग्र विद्यालय शिक्षामा समेत दीर्घकालीन सुधार ल्याउन सकिने निष्कर्ष अनुसन्धानले दिएको छ।

    images
    सोमवार, आश्विन १९ २०८३०२:००:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार