बुधवार, माघ २६ २०७८
काठमाडौं /२६ माघ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा पुजिगत खर्च चिन्ताजनक अवस्थामा रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिएका छन्।
आर्थिक वर्ष २०७८/०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
बिभाग र महाशाखामा ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको भन्दै मन्त्री पौडेलले एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै अप्ठ्यारो परे फुकाउन तयार रहेको बताए।
बैठकमा उनले कर्मचारीले कामगर्न खोजेको भए पनि मुर्तरुपले अघि बढ्न नसक्दा पुँजीगत खर्च कम भएकोमा चिन्ता समेत व्यक्त गरे । ‘प्रक्रियामा रहेका कार्यक्रमहरु छिटो अघि बढाउदै घोषित कार्यक्रमहरु निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्नन परोस् ' मन्त्री पौडेलले भने।
त्यसैगरी मन्त्री पौडेलले उनले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम ल्याउन समेत कार्यालयका प्रमुखहरुलाई निर्देशन पनि दिए ।
मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरण अनुसार चालूतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तियमा ३८.८९ प्रतिशत, पुँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तियतर्फ ३ प्रतिशत रहेको छ । यस्तै संघमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीयतर्फ २.८२ प्रतिशत रहेको छ ।