सोमवार, फाल्गुण २३ २०७८
फागुन २३, काठमाडौ - नेपाल सरकार राष्ट्रिय किताबखानाले अवदेखी अवकाश पाएका निजामती कर्मचारीको पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गर्दै अनलाइन बाटै पेन्सनपटाको बबस्था मिलाउने तयारी गरेको छ।
किताबखानाले सम्पुर्ण निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको (अभिलेख सहित) कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली कार्यान्वयन गर्न लागेको बताइएको हो।
राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक बाबुराज श्रेष्ठले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले प्राबिधिक सहितको टोलीले अध्ययन गरी प्रतिवेदन तयार गर्न लागेको बताए। श्रेष्ठका अनुसार कर्मचारी अवकाश हुने छ महिना अगाडि नै सम्बन्धित कर्मचारीलाई अनलाइनका माध्यमबाट जानकारी दिने, कर्मचारीले जुनजुन विवरण पठाउनुपर्ने हो; सो विवरण अनलाइनकै माध्यबाट पठाउने, मासिक, पेन्सन स्केल पनि अनलाइनबाटै जानकारी दिने र कर्मचारीको सम्बन्धित कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, निवृत्तभरण कार्यालय, पेन्सन लिने बैङ्कबारे अनलाइन माध्यमबाट जानकारी दिइनेछ ।
सबै तहका कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायतका दस्तावेजलाई डिजिटलाइजेसन गरी ई–पेन्सन प्रणाली लागू गर्न लागिएको ले कर्मचारी अवकाश हुँदा किताबखानासम्म धाइरह नुपर्ने बताइएको छ।
किताबखानाले यो प्रणाली अबको एक वर्षमा ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याउने जनाएको छ।
ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि अहिले पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले विज्ञका रूपमा काम गरिरहनुभएको छ । उहाँले कर्मचारीका सबै कागजात ई–फाइलिङ गर्न लागिएको बताउँदै आगामी दिनमा अवकाश हुने कर्मचारीको ई–फाइलिङ तयार हुँदै जाने जानकारी दिनुभयो ।
अहिले निजामती सेवामा मात्र एक लाख कर्मचारीले पेन्सन लिने गरेको किताबखानाले जनाएको छ । वि.सं. १९०५ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो । सङ्घ, प्रदेश र स्थानीय तहका गरी अहिले एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ ।