बिहिवार, फाल्गुण २६ २०७८
फागुन २६, काठमाडौ - नेपाल सरकार पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानुनी ठगी गरिरहेको भन्दै गृह मन्त्रालयले यस्तो कार्य गर्नेमाथी कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अनुरोध समेत गरेको हो । मत्रालयले ठगीका यस्ता गतिविधिहरु भएको सूचना प्राप्त भएमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
हेर्नुस, केके काम गर्दा कार्बाही हुन्छ?
१. रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने,
२. नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने,
३. भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने,
४. जग्गा वा घडेरी उपलब्ध गराउने,
५. उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने,
६. अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोवार गर्न प्रोत्साहन गर्ने,
७. घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने,
८. अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै दुरुत्साहन गर्ने,
९. डिजिटल मुद्रामा लगानी गर्ने गराउने,
१०. रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने,
११. विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने,
१२. ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने,
१३. कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत बनाउने,
१४. ढुकुटी खेल्ने, खेलाउने,
१५. अनलाइन ठगी गर्ने,
१६. मिटर ब्याजमा रकम उपलब्ध गराउने,
१७. बैंकिङ्ग प्रणाली भन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने ।
