मंगलवार, बैशाख २७ २०७९
बैशाख, २७- काठमाडौ । सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। नेपाल सरकारले परीक्षणका लागि सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको हो।
निर्णय अनुसार जेठ १ देखि हरेक शनिवार र आइतवार सार्वजनिक बिदा हुने भएको छ । सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपराह्न साढे ५ बजेसम्म निर्धारण गर्ने, कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान साढे ९ देखि अपराह्न साढे ४ बजेसम्म रहने राजपत्रमा उल्लेख गरिएको छ ।
नेपाल सरकारले राजपत्रमा दशैँ र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूले तेस्रो दिनदेखि गृहमन्त्रालयले समय निर्धारण गरेबमोजिम काम कार्बाही गर्ने व्यवस्था मिलाउने जनाएको छ। सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्ने समेत उल्लेख गरिएको छ ।

