बिहिवार, आषाढ १६ २०७९
असार, १६ काठमाडौँ । नेपाल सरकारले १० बर्षे राष्ट्रिय नर्सिङ तथा मिडवाइफ्री रणनीति सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार 'राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७/८८)' सार्वजनिक गरेको हो।
मन्त्रालयले उक्त निति अनुसार सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ।
रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न नेपाल भरी ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाहरुमा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी मन्त्रालयले नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवको रुपमा विकास गरिने उल्लेख गरिएको छ । नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम् मापदण्डलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।
अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य समेत लिएको छ ।
संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आपूर्ति र परिचालन गर्ने रणनीतिमा उल्लेख छ । संघीय संरचनाअनुरुप नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको गणना र प्रक्षेपण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सोहीअनुरुप सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीतिमा उल्लेख छ ।
अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज १० वर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो । रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्याउनुपर्नेमा जोड दिए । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारको स्वास्थ्य सेवा पुर्याउन राज्यले नसकेको समेत बताए । 'अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्, ' मन्त्री खापुङले भने,'देशभर समतामूलक सेवा पुर्याउन आवश्यक छ भएको र रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ । '
कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताए । उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी क्षेत्रमा जानै पर्नेमा जोड दिए #रासस