बुधवार, आषाढ २२ २०७९
असार, २२ काठमाडौं । काठमाडौ बिश्वबिद्धालयले “मास्टर्स अफ टेक्नोलोजी इन इनर्जी सिस्टम्स" बिषयमा अन्तर्राष्ट्रिय स्नातकोत्तर तहको पढाइ सुरु गरेको छ। विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने समझदारी अनुरुप इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) सँग सहकार्य गरेर उक्त कार्यक्रमको पढाइ शुरु गरेको हो।
उक्त कार्यक्रमको आगि बिश्वबिद्धालयले पहिलो ब्याचमा विद्यार्थी भर्नाका लागि आवेदन समेत खुलाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त कार्यक्रमका लागि काठमाडौ बिश्वबिद्धालय र आईआईटी मद्रासले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नेगरी संस्थाबीच २० जुलाई १९९८ मा भएको समझदारीपत्रको नवीकरणको रूपमा नयाँ सम्झौता भएको थियो।
यस समझदारीले दुई पक्षबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, अध्यापन, अनुसन्धान, विकास, परामर्श, अध्ययन, शैक्षिक सामग्री र प्रकाशनको आदान प्रदान र सांस्कृतिक तथा बौद्धिक समृद्धिका अवसरहरूको आधार खडा गर्ने बताइएको छ।
संयुक्त रुपमा सञ्चालन गरिने उक्त शैक्षिक कार्यक्रम दुई वर्षको हुनेछ । जसको मूल उद्देश्य विद्यार्थीहरूलाई ऊर्जाका विभिन्न क्षेत्रमा रहेका आधारभूत सीप प्रदान गराउनु रहेको र सफलतापूर्वक उक्त कार्यक्रम पूरा गर्ने विद्यार्थीहरूलाई दुवै संस्थाको लोगो अंकित शैक्षिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट सहित दिक्षीत गरिने केयूका एसोसिएट प्रोफेसर विराजसिंह थापाले बताए ।
उक्त कार्यक्रमले दुवै विशिष्टीकृत संस्थाका एरोनटिकल, अप्लाइड मेकानिक्स, केमिकल, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, वातावरण, मेटलर्जिकल, मटेरियल इन्जिनियरिङ, ओशन इन्जिनियरिङ, रसायन विज्ञान, भौतिक विज्ञान, मानविकी, र सामाजिक विभागका विशेषज्ञतालाई एकीकृत गरी ऊर्जा र प्रविधी लगायतमा टेवा पुर्याउने अपेक्षा राखिएको छ ।
उक्त कार्यक्रमको शैक्षिक सत्र २५ जुलाई २०२२ बाट सुरु हुने र पठनपाठनका गतिविधि दुवै शिक्षण संस्थाहरूले हाइब्रिड मोडलमा सञ्चालन गर्नेछन् । त्यस अनुरूप पहिलो र दोस्रो सेमेस्टरको अध्यापन काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुनेछ । पछिल्ला सेमेस्टरको पठनपाठन तथा प्रयोगशालाका कार्यहरू इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासमा सञ्चालन हुनेछन् । #टेकपाना