शनिवार, आषाढ २५ २०७९
असार, २५ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न र नीतिगत सुधार ल्याउन ‘शैक्षिक कम्युन’ बनाएको छ । ‘एकेडेमिक कम्युन कम थिंक ट्यांक’ नाम दिइएको शैक्षिक कार्यक्रमका लागि २५ जना अनुसन्धानकर्ता प्राध्यापकहरूको टिम बनाएर शैक्षिक कम्युन बनाएको हो।
‘विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि यो कार्यक्रम ल्याइएको हो । यसमा विद्यावारिधि गरेका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको एउटा समूह रहनेछ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलका अनुसार शैक्षिक कम्युनकालागि विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेपालीलाई शैक्षिक विकासमा योगदान गर्न आवधिक करार सेवामा लिन लागिएको बताए ।
रजिष्ट्रार पौडेलका अनुसरा ‘शैक्षिक कम्युन’ कार्यक्रम सुरु गर्न भन्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले २०७८ वैशाख १० गते निर्णय गरी जेठ ३ गते विज्ञापन आह्वान गरेको थियो । उक्त विज्ञापनमार्फत आएका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरू चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रमका लागि १३५ जना अनुसन्धानकर्ता प्राध्यापकहरूको आवेदन परेकोमा ९१ जना योग्य सूचीमा समावेश भएका छन् । विश्वका २१ देशका विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न विधामा अनुसन्धान गरिरहेका र पढाइरहेकाहरू योग्यता सूचीमा परेको रजिष्ट्रार पौडेलले दाबी गरे । ‘यी ९१ प्रतिस्पर्धीबाट एमयूका विभिन्न संकायअन्तर्गत विषयगत विज्ञका रूपमा २५ जना छनोट गरिने छ,’ रजिष्ट्रार पौडेलले भने ।
हाल ६ महिनाका लागि करार गरिए पनि ती प्राध्यापकले आफ्नो परियोजना ल्याए वा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभाव पार्न सकेमा मूल्यांकनका आधारमा करार थप गर्ने व्यवस्था गरिने विश्वविद्यालय प्रशासनले जनाएको छ । ‘प्रभाव राम्रो भएन भने ६ महिना अगाबै उहाँहरूलाई बिदा गर्न सकिने बताइएको छ।