मंगलवार, श्रावण १० २०७९
साउन, १० काठमाडौँ । यस शैक्षिक बर्ष देखि माध्यमिक शिक्षा परीक्षा (SEE) मा सैद्धान्तिक र प्रयोगात्मक परिक्षाको मुल्यांकन फरक फरक गरिने भएको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले यसै पटक देखि मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा यसै हप्ताको शुक्रवार भित्र आउँदै छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्ज‘नबहादुर रायमाझीले अहिले रुजुको काम भइरहेको बताउनुभयो।
यस बर्षको SEE मा D+ , E+ र E Grade हटाइएको छ। नयाँ ग्रेड प्रणाली अनुरुप सबै विषयमा D Grade मात्रा पनि प्राप्त गर्नु भयो भने कक्षा ११ मा पढ्न पाउनु हुनेछ। त्यसैगरी यस पटकको SEE नतिजामा कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ % र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो।
राष्ट्रिय परीक्षा बोर्डका उपपरीक्षा नियन्त्रक (कक्षा १०) भक्तबहादुर गोदारले प्रयोगात्मक र सैद्धान्तिकतर्फको प्राप्ताङ्कलाई फरक–फरक ग्रेड निर्धारण गरिने बताउनुभयो। सबै विषयको ग्रेडलाई एकीकृत गरेर परीक्षाको समग्र नतिजामा जीपीए निर्धारण गरिनेछ। एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ।
परीक्षार्थीको प्राप्ताङ्कअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ४.० दिइनेछ। ८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३.६ दिइनेछ । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिनेछ, जसलाई जीपीए ३.२ दिइनेछ। ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २.८ दिइनेछ।
५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिई जीपीए २.४ मानिनेछ। ४० देखि ५० अङ्कसम्मकालाई ‘बी’ प्लस ग्रेड मानिने र जीपीए २.० दिइनेछ। त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १.६ दिइनेछ। ३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन। यस समूहलाई कुनै पनि ग्रेड समूहमा राखिने छैन। यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिनेछ।
बोर्डका अनुसार नतिजा सार्वजनिक भएको एक/दुई सातामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र (मार्कसिट) पुग्नेछ।