सोमवार, माघ १२ २०७७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंशिक प्राध्यापकहरुले सम्झौताअनुसारकै पारिश्रमिक पाउने भएका छन् । आंशिक प्राध्यापकहरुसँग गरेको सम्झौताको सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्गतका आंगीक क्याम्पसहरुलाई परिपत्र सर्कुलरसमेत गरेको छ ।
पत्रमा त्रिभुवन बिश्वबिद्यालयका विभिन्न क्याम्पसमा कोर्स करार गरी अध्यापन कार्यमा संलग्न आंशिक शिक्षकहरुको पारिश्रमिक आगामी सेमेस्टर/शैक्षिक सत्रदेखि लागु हुने उल्लेख छ । यस्तै, माघ २ गतेको बैठकबाट त्रिविअन्तर्गत निकायहरुमा शिक्षकहरुलाई क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्णकक्षाभारका आधारमा नियमानुसार प्रक्रिया पूरा गरी त्रिवि केन्द्रीय कार्यालयको स्वीकृतिमा क्याम्पसको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी शिक्षण सहायकसरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने बताइएको छ ।
क्रेडिट प्रणालीअनुसार कक्षा लिनका लागि प्रतिक्रेडिट १७ हजार चार सयका दरले र वार्षिक प्रणालीमा प्रतिपिरियड पाँच सय ९० का दरले १५० घण्टाको हुने पारिश्रमिक कोर्स पूरा भएपछि एकमुष्ठ वा सम्झौतामा उल्लेख भएबमोजिम किस्ताबन्दीमा भुक्तानी दिनुपर्ने उल्लेख छ । यस्तै प्रतिकक्षाको समय एक घण्टाको हुनेछ ।
यस्तै, कम्तिमा एक शैक्षिक सत्र अध्यापन पूरा गरेका कार्यरत आंशिक शिक्षकहरुलाई त्रिविको स्थायी सेवा प्रवेशमा उमेरहद नलाग्ने गरी त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को परिच्छेद २ नियम ७ (क) को २ मा व्यवस्थालाई माघ २ को निर्णयानुसार संशोधन गरिएको छ ।
