मंगलवार, श्रावण १० २०७९
साउन, १० काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय गरिएको छ । मङ्गलबार बसेको बोर्ड बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय गरेको हो।
कोभिड–१९ को दोस्रो लहरका कारण समयमा पठनपाठन सुरु नभएको र कोर्स पूरा हुन पनि कठिन भएको कारण २०७८ सालका एसईईका परीक्षार्थीको नतिजा त्यति उत्साहजनक नरहेको देखिएपछि नयाँ व्यवस्था लागू नगर्ने निर्णय बोर्ड बैठकले गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विश्वस्त सूत्रले जानकारी दिएका छन् ।
“यसपटक ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई ननग्रेडेड गरिदिँदा त्यति न्याय होला जस्तो देखिएन” मन्त्रालय सूत्रले भने, “त्यसैले यसपटक पुरानै विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ ।”
यसअघि २०७८ पुस ७ गते शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका जारी गरेको थियो । सो निर्देशिकामा ९० र सोभन्दा माथि ल्याउनेलाई सर्वाेत्तम (एप्लस), ८० र सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई अत्युत्तम (ए), ७० र सोभन्दा माथि ८० भन्दा कम ल्याउनेलाई उत्कृष्ट (बीप्लस), ६० र सोभन्दा माथि ७० भन्दा कम ल्याउनेलाई उत्तम (बी), ५० र सोभन्दा माथि ६० भन्दा कम ल्याउनेलाई सन्तोषजनक (सीप्लस), ४० र सोभन्दा माथि ५० भन्दा कम ल्याउनेलाई ग्राह्य (सी), ३५ र सोभन्दा माथि ४० भन्दा कम ल्याउनेलाई आधारभूत (डी) र ३५ भन्दा कम ल्याउनेलाई अवर्गीकृत (एनजी) ग्रेड निर्धारण गर्ने व्यवस्था गरिएको थियो ।
पुरानै विधिअनुसार गर्दा अब ई पनि ग्रेड निर्धारण गरिनेछ । पुरानो पद्धतिअनुसार ९० देखि १०० ल्याउनेलाई एप्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बीप्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेडमा मूल्याङ्कन गर्ने गरिन्थ्यो । २०७८ सालको एसईईको नतिजा पुरानै पद्धतिअनुसार गरिनेछ । सूत्रका अनुसार सैद्धान्तिकमा न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकमा न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने पद्धति पनि रहने छैन ।
२०७८ सालको एसईईको नतिजा भोलि बुधबार अपरान्ह सार्वजनिक गरिने भएको छ ।
