मंगलवार, भाद्र २८ २०७९
भदौ, २८ काठमाडौ । साविक उच्च माविका (कक्षा ११ र १२) शिक्षहरुले मंगलबार हातमा कालोपट्टी बाँधेर अध्यापन गरेका छन्। माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरे अनुरुप आज देशभरका शिक्षकहरले हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका हुन्।
कक्षा ११ र १२ मा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखी स्थायी दरबन्दीको शिक्षकको व्यावस्था नगरे कै कारण विरोध स्वरुप उनीहरुले कालोपट्टी बाँधेर अध्यापन गरेको बताइएको छ।
शिक्षकहरुले बन्दै गरेको नयाँ शिक्षा ऐनमा साविक उच्च मावि शिक्षकहरुको माग समावेश गरिनुपर्ने माग राख्दै उनीहरु एकसातादेखी आन्दोलित छन् । त्यसैगरी भदौ ३० गते ( साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने ), सो दिन शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको छ ।
यसअघि ११ र १२ कक्षाका शिक्षकले आफ्ना १६ बुँदे मागबारे सोमबार ७७ वटै जिल्लाबाट सांसदहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए।