बिहिवार, आश्विन ६ २०७९
असोज, ६ काठमाडौ । माध्यमिक शिक्षा परिक्षा (एसईई)मा कक्षा ११ मा कुनै पनि बिषय पढ्न १.६ जिपिए ल्याए पुग्ने भएको छ। अबदेखि कक्षा ११ मा कुनै पनि विषयमा अध्ययन गर्न एसइईमा कुनै पनि विषयमा न्यूनतम ग्रेड ल्याउनुपर्ने व्यवस्था अन्त्य भएको हो ।
एसईईमा कम प्राप्ताङ्क भए पनि आफूले चाहेको विषय अध्ययन गर्न नपाएका विद्यार्थीका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यस्तो निर्णय गरेर बाटो खुला गरिदिएको छ ।
यसबाट विशेष गरी विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना हुन चाहनेका लागि सहज भएको छ । यसअघि विज्ञान विषय अध्ययन गर्न तोकिएको विषयमा न्यूनतम सी प्लस ग्रेड ल्याउनै पर्ने व्यवस्था थियो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसै वर्षबाट यस्तो व्यवस्था कार्यान्वयन हुने बताउँदै भने, “२०७८ सालको एईईमा सहभागी भएका विद्यार्थीका लागि बाटो खुला भएको छ । अब उनीहरुले न्यूनतम १.६ जीपीए ल्याएमा माथि जुनसुकै विषय छनोट गर्न पाउनेछन् ।”
त्यसैगरी विदेशमा पढेर आएकाहरुको पनि न्यूनतम १.६ जीपीए रहेको भए उनीहरुलाई पनि समकक्षता निर्धारण गरिदिन बाटो खुला गरेका गरेको छ। जसका कारण समकक्षता निर्धारण हुन नसकेर उच्च शिक्षा अध्ययन गर्न नपाएकाहरुलाई राहत मिलेको छ ।