सोमवार, कार्तिक २१ २०७९
कार्तिक, २१ काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा 'हेल्थ इन्फरम्याटिक्स' विषयमा अध्यापन सुरु गर्ने भएको छ । बिश्वबिद्धालयले आगामी शैक्षिक सत्रदेखि स्वास्थ्य विज्ञान तथा सूचना प्रविधिको समिश्रण भएको हेल्थ इन्फरम्याटिक्स विषयको अध्यापन शुरु गर्मे भएको हो।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धी तथ्याङ्क प्रशोधन गर्ने, स्वास्थ्य प्रणालीहरूको विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नवीन खोज एवं अन्वेषण गर्ने यसको प्रमुख उदेश्य रहेको विश्वविद्यालयले जनाएको छ ।
बिश्वबिद्धालयका अनुसार स्नातकोत्तर कार्यक्रममा शोधकार्य सहित कूल ४८ क्रेडिटको कोर्ष अध्यापन हुनेछ । यो विषयको अवधि २ वर्ष रहनेछ भने यस शैक्षिक कार्यक्रममा हाललाई एक पटकमा १० जना विद्यार्थी भर्ना गरिने विश्वविद्यालयको भनाई छ ।
यस स्नातकोत्तर शैक्षिक कार्यक्रम स्थापना तथा सञ्चालनका लागि काठमाडौं विश्वविद्यालयले युरोपियन युनियनको इरासमस प्लस कार्यक्रम अन्तरगत Nepalese Education in E-Health Master (NEEM) परियोजना मार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्नेछ ।
सोही परियोजना अन्तर्गत युनिभर्सिटी इन्स्टिच्युट अफ लिसवन, पोर्चुगलको पनि यस कार्यक्रममा सहयोग रहने बताइएको छ । साथै यस शैक्षिक कार्यक्रममा एसिया ईहेल्थ इन्फर्मेशन नेटवर्क र हेल्थ इन्फर्मेशन सोसाइटी अफ श्रिलंकाको पनि सहयोग रहेको छ ।