शुक्रवार, माघ १६ २०७७
कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राखिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदकाे बैठकले कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राख्ने निर्णय गरेको हो ।
विद्यार्थीहरुले अब सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउने छन् ।
यसअघि नयाँ पाठ्यक्रममा गणित विषयलाई चौथो समूहमा राखिएको थियो । ऐच्छिकमा राखिएकाले विद्यार्थीले चाहेमा मात्र पढ्न पाउने थिए । नेपाली, अङ्ग्रेजी र सामाजिक अध्यययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषय बनाइएको थियो ।
“विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अनिवार्य विषयका रुपमा लिएका भए ऐच्छिकमा गणित लिन पनि सक्नेछन्” केन्द्रका कार्यकारी निर्देशकले भने , “अनिवार्य विषयका रुपमा गणित छनोट गरेकाले ऐच्छिकका रुपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पनि लिनसक्नेछन् । दुवै ढोका खुला गरिदिएका छौँ ।” यी दुवै विषय पाँच क्रेडिट आवरका छन् ।
पाठ्यक्रमको विषयलाई लिएर सर्वोच्चमा रिटसमेत परेको थियो । सर्वोच्चले नयाँ पाठ्यक्रम लागू गर्न र गणित विषयको विवाद समाधान गर्न निर्देशनात्मक आदेश दिएको थियो । यस अनुसार अब आउने शैक्षिक सत्र देखि नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुनेछ ।

यसैगरी परिषद्को बैठकले प्रारम्भिक बाल शिक्षा (ईसीडी), कक्षा ६–८ र कक्षा ९–१० का नयाँ पाठ्यक्रम पनि स्वीकृत गरेको छ । आगामी २०७८ सालको नयाँ शैक्षिक सत्रबाट ईसीडी र कक्षा ६–८ का सबै विद्यालयमा सोअनुसारका पाठ्यपुस्तक अध्यापन गरिनेछ भने कक्षा ९–१० का पाठ्यपुस्तक परीक्षणका रुपमा केही विद्यालयमा पठनपाठन हुनेछ । यस वर्ष कक्षा ६–८ मा देशका २८ विद्यालयमा परीक्षणका रुपमा अध्यापन गरिएको थियो र अब कक्षा ९–१० का नयाँ पाठ्यपुस्तक पनि तिनै विद्यालयमा अध्यापन हुनेछ ।