शुक्रवार, मंसिर १६ २०७९
मंसिर, १६ काठमाडौं । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ। निर्देशनालयले शून्य दरबन्दीमा सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूसँग शिक्षण सिकाइ सहयोग अनुदानका लागि प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो।
शिक्षा बिकास निर्देशनालय बागमती प्रदेशको आर्थिक बर्ष २०७९–८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार माध्यमिक तहमा सङ्घ, प्रदेश र स्थानीय तहबाट कुनैपनि दरबन्दी, राहत, अनुदान कोटा नपाई शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयहरूलाई शिक्षकण सिकाई अनुदान उपलब्ध गराउने भएकोले प्रस्ताव पेश गर्न सुचनामा जानकारी दिएको छ ।
अनुदान उपलब्ध गराउनका लागि सुचना जारी भएको १५ दिन भित्र शिक्षण सिकाइ सहयोग अनुदान वितरण मापदण्ड २०७८ को दफा २ बमोजिमका सर्त पूरा गरेका विद्यालयहरूले मापदण्ड २०७८ को अनुसूची १ को ढाँचामा प्रस्ताव तयार गरी निर्देशनालयमा पठाउन जारी सुचनामा भनिएको छ ।
त्यसैगरी बागमती प्रदेश शिक्षा बिकास निर्देशनालयले कृषि तथा पशु विज्ञान विषय सञ्चालन भएका सामुदायिक माध्यमिक विद्यालयहरूलाई पूँजीगत अनुदानका लागि प्रस्तव माग गरेको छ ।निदेशनालयले १५ दिनभित्र प्रस्ताव तयार गरी निर्देशनालयमा पठाउनु पर्ने बताएको छ ।

त्यस्तै निर्देशनालयले सामुदायिक विद्यालयहरूले विपद् व्यवस्थापनका लागि प्रस्ताव माग गरेको छ । बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरूमा क्षतिको रोकथाम गरी विपद् व्यवस्थापन गर्नका लागि केही सामुदायिक विद्यालयहरूलाई अनुदान वितरण गर्ने कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव माग गरेको हो ।
निर्देशनालयले १५ दिनभित्र विपद् व्यवस्थापन सम्बन्धी प्रस्ताव पेश गर्नुपर्ने सूचनामा जानकारी दिएको छ।