बिहिवार, माघ १२ २०७९
माघ, १२ गते काठमाडौ । हिन्दु परम्परा अनुसार आज सरस्वती पूजा अर्थात वसन्त पञ्चमी देशैभरी धुमधामका पुर्वक सम्पन्न भएको छ। हिन्दु परम्परा अनुसार विद्याकी देवीको रुपमा सरस्वतीको पूजा अर्चना गरेर प्रतेक शिक्षण संस्थाहरुमा मनाइएको हो।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी हेमन्त ऋतुलाई बिदा गर्दै शिशिर ऋतुको आगमनसंगै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइने चलन छ । विद्या र संगीतकी प्रतिककोरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पीठ तथा मन्दीरहरुमा पूजा आरधाना गर्ने र साना नानीहरुका निम्ति अक्षराम्भ गर्ने गरिएको छ ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास भएकोले आजैका दिन अभिभावकले आफ्ना स-साना छोराछोरीलाई अक्षराम्भ गराउँदै विद्यालयको ढोकासम्म पुर्याउने गर्दछन। आजको दिन विद्यालयहरुले समेत विशेष अवसरका रुपमा लिई बालबालिकालाई नि:शुल्क कक्षा प्रवेश गराउँदै आउने गरेका छन्।
देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधि तोकिएको छ । ‘ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना सहित सूर्यको अर्चना गरी रस्वतीको उपासना गदै विद्यालयले सरस्वती पूजा गर्ने चलन छ।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छ ।
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!
बसन्त पञ्चमी अर्थात श्रीप्ञ्चमीको अवसर पारेर लेलेको सरस्वती कुण्ड, थिमिको सरस्वतीखेल, सूर्यपुरा रुपन्देहीको सरस्वती मन्दिर, विशालनगरको नील सरस्वती, मैतीदेवीको सरस्वती, खलङ्गा प्युठान, पालुङको घट्टेचौरको सरस्वती मन्दिरमा विशेष मेला समेत लाग्ने गर्छ।
बसन्त पञ्चमीको अवसरमा हनुमानढोका दरवारमा राष्ट्र प्रमुख द्वारा बसन्त श्रवण गर्ने चलन छ। यसका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो।



