आइतवार, फाल्गुण २८ २०७९
फागुन, २८ काठमाडौ । काठमाडौं विश्वविद्यालय (KU) ले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको छ। बिश्वबिद्धालयले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको हो ।
देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन सुरु गर्ने योजना रहेको बताइएको छ।
KU का उपकुलपति प्रा.डा. भोला थापाका अनुसार ‘देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरको अभाव देखिएकोले स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङको अध्यापन सुरु गर्न लागेका बताए। उनले नेपालमा खानीजन्य खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ ।
थापाले भने, ‘'पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ’' । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ ।
नेपालमा खानी इञ्जिनियरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ ।
केयूले दुईसाता अघिमात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो । सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महिनामाभित्र सुरङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ । रासस