बुधवार, चैत्र १५ २०७९
चैत, १६ गते काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक सकेको जानकारी दिएको छ। केन्द्रले हाल सम्म १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको हो।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्याउने जानकारी समेत दिएको छ। पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
यसअघि कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सैं घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको प्रबन्ध निर्देशक झा ले बताए ।
उनले भने, ‘यसवर्ष एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौँ, अब बाँकीे १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ ।’
छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रका बजार व्यवस्थापन शाखाका प्रमुख चित्रराज आचार्यले बताए ।
त्यसैगरी उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गर्ने बताए । ‘गत वर्ष निर्वाचनको मतपत्र छपाइ भयो । कागज समयमा नआउँदा अभावका कारण छपाइमा केही समस्या आएको थियो ।
यस वर्ष छपाइमा कुनै समस्या छैन भन्दै उनले चैत १५ गतेभित्र ७ वटै प्रदेश कार्यालय र नेपालगञ्जमा रहेको प्रादेशिक प्रेस कार्यालयमा पुस्तक ढुवानी गरी एक साताभित्र अर्थात् २० गतेबाट बिक्री खुला गर्ने बताए ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चैत मसान्तभित्र सबै पाठ्यपुस्तक छपाइ पूरा गरी वैशाख १५ गतेसम्म सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याइने जानकारी दिनुभयो ।
सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।