बिहिवार, चैत्र १६ २०७९
चैत, १६ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले एसइई परिक्षाको तयारी पुरा गरेको छ। भोलि चैत १७ शुक्रवारदेखि सुरु हुने माध्यामिक शिक्षा परिक्षा को तयारी पूरा भएको हो।
देशैभरी ७ हजार २ सय सामुदायिक र ४ हजार पाँच सय ६४ संस्थागत गरी कुल ११ हजार ८ सय २९ विद्यालयमा अध्ययन गर्ने ४ लाख ८४ हजार २२७ परिक्षार्थी एसइईमा सहभागी हुँदैछन् । यसका लागि बोर्डले देशैभरी ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । भोलि परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको सबै तयारी पूरा भइसकेको बताउनुभयो । अध्यक्ष शर्माले भन्नुभयो “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।”
उहाँले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्यउनेलगायतका सबै काम सकिएको जानकारी दिनुभयो ।
परिक्षाको सभ्य, अनुशाशित र मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरु, सातै प्रदेशका शिक्षा बिकास निर्देशनालयका निर्देशकहरु, ७७ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुखहरु, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुुखहरु, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको छ। उक्त बैठकले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेश भित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने निर्णय गरेको छ।
त्यसैगरी प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती, सरोकारवालालाई प्रशिक्षण गर्ने, प्रश्नपत्र प्रहरी निकायसम्म पुर्याउने, उत्तरपुस्तिका परीक्षा केन्द्रसम्म पुर्याउने र आवश्यक समन्वय गर्ने कामसमेत पूरा भएको बताइएको छ।
त्यसैगरी बैठकले परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्ति परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने तर निषेध गरिएको छ। यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको छ।
एसइई परीक्षाका सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । यद्यपि कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको बताइएको छ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।
त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए ।
यस बर्ष एसइई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने बताइएको छ।