बुधवार, आषाढ ६ २०८०
असार, ६ काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले रोक लगाएको 'कान्तिपुर हिसान एडुफेयर - २०२३ शैक्षिक मेलामा हस्तक्षेप नगर्न बुधबार अन्तरिम आदेश दिएको छ । 'उत्कृष्ट शिकहा नेपालमै' भन्ने नाराका साथ आयोजना गरिएको शैक्षिक मेला न्यायधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले यस्तो आदेस दिएको हो।
उच्च अदालतको आदेश अनुसार जेठ ३२ देखि अवरुद्ध बनेको शैक्षिक मेलालाई निरन्तरता दिने बाटो खुलेको छ । अदालतको आदेश सँगै आयोजक हिसानले शुक्रबार ८ गतेदेखि ३ दिनसम्म मेला सञ्चालन गर्ने जनाएको छ । अदालतले काठमाडौं महानगरपालिकाको मेला सञ्चालनलाई अनुचित रुपमा अवरोध गर्ने र सामग्रीहरु कब्जामा लिने कार्य प्रथम दृष्टिमा नै वैध मान्न नसकिने जनाएको छ ।
‘उक्त सामग्रीहरू निवेदक संस्थालाई नै उपयोग गर्न दिनू, एडुफेयर मेला सुचारु गर्न सन्दर्भमा गर्ने तयारी तत् तत्सम्बन्धी कामकारबाही गैरकानुनी रुपमा अवरोध वा हस्तक्षेप गर्नेजस्ता अनधिकृत कार्य नगर्नू/नगराउनू भनी विपक्षीहरूको नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि मुलुकी देवानी कार्यविधि २०७४ को दफा १५८ र उच्च अदालतको नियमावली २०७३ को निमय ४२ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ ।