बिहिवार, आषाढ २१ २०८०
असार २१ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँस बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो।
नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । यस बर्षको नतिजा गत बर्षको भन्दा राम्रो भएको बताइएको छ।

प्रारम्भिक जानकारी अनुसार कुल विद्यार्थी मध्य २२,४७५ जनाको GPA 3.60 देखि 4.00 सम्म आएको जानकारी दिइएको छ। यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको चार दशमलव ६३ प्रतिशत हो । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।
त्यसैगरी नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।
विवरण अनुसार २०७८ मा ०.८० देखि १.२० ल्याउनेको संख्या ३२८० रहेकोमा अहिले घटेर २२०० मा झरेको छ । त्यस्तै १.२० देखि १.६० ल्याउने २०७८ मा ४४५८६ रहेकामा अहिले घटेर ३८७७० रहेको छ । अर्कातर्फ ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या सबैभन्दा बढी अर्थात् २.९६ प्रतिशतले बढेका छन् । त्यस्तै ३.६० देखि ४.०० जीपीएसम्म ल्याउनेको संख्या २.६९ प्रतिशतले बढेको छ ।
बोर्डका अनुसार परीक्षाको मर्यादा नराख्ने ४३१ जना एसईई परीक्षार्थीको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रद्द गरिदिएको छ । २९० जनाको चाहिँ स्थगित गरिएको छ ।
यस वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी थिए । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना परीक्षार्थी सहभागी थिए । त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जनाले परीक्षा दिएका थिए ।
बोर्डले यस वर्षको एसइई परिक्षाको नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिका अनुसार सार्वजनिक गरेको छ । पुरानो पाठ्यक्रम बाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरेको राष्ट्रिय बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
एसईईको नतिजा विद्यार्थीहरूले खल्ती डिजिटल वालेट एपबाट नि:शुल्क आफ्नो नतिजा हेर्न सक्नेछन। नतिजा हेर्न खल्ती > विशेष सेवाहरू > नतिजाहरू हेर्नुहोस् > मा जानुहोस् प्रतीक नम्बर प्रविष्ट गर्नुहोस् > नतिजा हेर्नुहोस् खल्ती लिङ्क: http://kk5.io/SEE-Results-Khalti साथै, विद्यार्थीले केहि समय पछि एसएमएस मार्फत SEE नतिजा हेर्न सक्छन्।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
