शनिवार, माघ २४ २०७७
कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्वद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ ।बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिनु भयो ।
अब पठापाठन आन्तरिक परीक्षा,अन्तिम परीक्षा र नतिजा प्रकाशन समेत जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्ष पौडेलले भन्नुभयो, “नेपाल सरकारले कार्यविधि परीवर्तन गर्ने बाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्देन ।”
परीक्षा सञ्चलन गर्दा परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि मार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा एकै पटक परीक्षा सञ्चालन गर्न नसकेपछि कार्यविधि मार्फत उक्त अधिकार विद्यालयलाई दिइएको हो ।
बोर्डले परीक्षा सञ्चालन नगर्ने निर्णयसँगै अब विद्यालयमाथि गहन जिम्मेवारी थपिएको छ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रमसमेत कार्यन्वयन गरिएकाले यसको प्रभाव तथा गुणस्तर के हुन्छ भन्नेमा विद्यालय चनाखो भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
विज्ञहरुले विद्यालयहरुलाई यस खालको अधिकार दिँदा पछिल्लो दिनमा शैक्षिक गुणस्तरमा समस्या आउने भएकाले यसमा सुझवुझपुर्ण तरीकाले निर्णय लिनुपर्ने उपाए सुझाएका छन । शिक्षाविद प्रा. डा. वासुदेव काफ्लेले विद्यालयलाई यो अधिकार दिनु राम्रो भए पनि अहिले नै धान्न समस्या हुन सक्ने बताउनु भयो । यसलाई प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ ।
कक्षा १२ को परीक्षा भने बोर्डले नै राष्ट्रिय स्तरमा सञ्चालन गर्ने छ । कक्षा ११ उत्तीर्ण भएको आधारमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाइएको छ । आजको गोरखापत्रमा खबर छ ।