सोमवार, श्रावण २९ २०८०
साउन, २९ बुटवल — बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले संस्थागत विद्यालयहरूले लिने मासिक शुल्क, भर्ना , प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार बुटवल उपमहानगरपालिकाको नेतृत्वमा अभिभावक, निजी विद्यालयका छाता संगठनका संस्थाहरूसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गर्दै राजपत्रमा प्रकाशित गरेको बताए।
बुटोल उपमहानगरले नयाँ मापदण्ड अनुसार चालु शैक्षिक सत्रमा ‘ग’ श्रेणीमा रहेको निजी विद्यालयले पूर्वप्राथमिक तहका लागि मासिक शुल्क २ हजार, ‘ख’ ले २४ सय र ‘क’ ले बढीमा २७ सय ५० रुपैयाँमात्र मासिक शुल्क लिन पाउनेछन् । त्यसैगरी प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म ‘ग’ 'ख' र 'क' वर्गका विद्यालयले क्रमशः २२ सय, २६ सय र ३ हजार रुपैयाँसम्म शुल्क लिन पाउने छ।
त्यसैगरी निमावि तहमा कक्षा ६ देखि ८ सम्म ‘ग’, 'ख' र 'क' वर्गका विद्यालयले क्रमशः २६ सय, ३ हजार र ३३ सय मासिक शुल्क लिन पाउनेछन् । यस्तै माध्यमिक विद्यालयका लागि 'ग', 'ख' र 'क' बर्ग' ले क्रमशः ३२ सय, ३६ सय र ४२ सय शुल्क निर्धारण गरिएको छ। त्यसैगरी कक्षा ११ र १२ को लागि ग, ख र क वर्गका लागि त्रमशः ३५ सय, ४१ सय र ४७ सय शुल्क निर्धारण गरेको छ ।
उपमहानगरले मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४७ सय, ५ हजार र ५२ सय लिन पाउनेछन् । यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरेको छ ।
उपमहानगरपालिकाले निर्धारण गरेको नयाँ शुल्क साउन महिनादेखि नै कार्यान्वयनमा आउने र तोकिएको भन्दा बढी शुल्क लिएको भए अर्को महिनाको शुल्कमा मिलान गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।
उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा चरम शुल्क असुलेको गुनासो अभिभावकहरूले गरेका थिए । त्यसपछि बुटवल उपमहानगरपालिकाले एक कार्यदल गठन गरी यस विषयमा अध्ययन गरेको थियो । अध्ययनअनुसार बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३० देखि ७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएको उपमहानगरले जनाएको छ ।