सोमवार, श्रावण २९ २०८०
साउन, २९ काठमाडौ । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले कक्षा १२ को नतिजा पर्खिरहेका विद्यार्थीहरुलाइ लक्षित गरेर काठमाडौंमा इन्जिनियरिङ अध्ययनका अवसरसम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ ।
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका अवसरबारे आयोजना गरिएको कार्यक्रम इन्जिनियरिङ विषय पढ्ने तयारी गरेर बसेका विद्यार्थीलाई उक्त विषयबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठले देशका लागि केही गर्न चाहने र देशमा उत्पन्न विभिन्न समस्याहरू समाधान गर्न चाहनेहरूका लागि इन्जिनियरिङ विषय उत्कृष्ट रहेको बताए । इन्जिनियरिङमा नेपाल र अमेरिकाको पाठ्यक्रम उस्तै उस्तै रहेको उनको भनाई थियो ।
नेपाली विश्वविद्यालयहरूले प्रयोगात्मक विषयमा कम जोड दिने र बजारले मागेको सिप दिन नसेको हुँदा बजारमा काम पाउने गाह्रो भइरहेको अवस्थालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले पाठ्यक्रमलाई परिष्कृत गर्नुका सार्थै इन्टर्नसिपलाई समेत अनिवार्य गरेको छ । पहिलोपटक पोखरा विश्वविद्यालयले इन्जिनियरिङका सबै विषयका लागि तीन महिने इन्टर्नसिपको व्यवस्था गरेको हो ।
‘हालै मात्र सबै इन्जिनियरिङ कार्यक्रमहरूको पाठ्यक्रमलाई रिभिजन गरेका छौँ । सैद्धान्तिक विषयका साथ साथै प्रयोगात्मक विषयलाई पनि जोड दिएका छौँ,’ विज्ञान तथा प्रविधि संकायका डिन राजेश कुमार ठगुराठीले भने ।
त्यसैगरी हालै मात्र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आएकी मिस नेपाल २०१८ तथा आर्किटेक्ट शृङ्खला खतिवडाको समेत उपस्थिति थियो ।
उनले आफ्नो अनुभवका साथै विश्वभर इन्जिनियरिङ अध्ययनको अवस्था, यसबाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतीको बारेमा बताइन् । स्नातकोत्तर गरेलगत्तै नेपाल फर्किएकी खतिवडाले भविष्यका इन्जिनियर बन्न चाहनेहरूलाई नेपालमै प्रचुर सम्भावना रहेको उल्लेख गरिन् ।