मंगलवार, भाद्र १२ २०८०
भदौ, १२ काठमाडौ। चितवनको खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ । पालिकाले कक्षागत र विषयगत दरबन्दी कम भएका तर विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षकहरु नियुक्ति गरेको हो।
खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँका अनुसार ४१ जना स्वयंसेवक शिक्षक परिचालनबाट गरिएको बताइएको छ। खैरहनीमा विसं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी सङ्ख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ ।
नगरपालिकाले त्यस्ता शिक्षकहरुलाई नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी व्यवस्थापन गरिएको र यस वर्ष नगरपालिकाले रु ८८ लाख २५ हजार बजेट विनियोजन गरेको पालिका प्रमुख खनियाले जानकारी दिए।
स्वयंसेवक शिक्षकको नियुक्ति पाउनेमा बालविकासतर्फ ११, प्राथमिक तह (कक्षा १–५) का २५, आधारभूत तह (कक्षा ६–८)मा गणित र विज्ञान विषयका चार र मावि तहको नेपाली विषयको एकजना रहेका छन् ।
स्वयंसेवक शिक्षकका लागि आवेदन दिएका दुई सय ७२ मध्ये दुई सय ६८ जना सूचीकृत भएका थिए । यसमध्येबाट योग्यताक्रमका आधारमा ४१ जना छनोट गरिएको हो । सुत्केरी बिदा र वैदेशिक यात्रामा गएका बेला रिक्त हुने स्थानमा स्वयंसेवक शिक्षक नै खटाइने छ ।