बुधवार, भाद्र २० २०८०
भदौ, २० गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपाचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीकोे आरम्भ गरेको हो।
विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत शुभारम्भ गर्नुभएको थियो।
यसअनुरुप बिश्वबिद्धालय अन्तर्गतका हरेक कार्यालय स्वचालित प्रणालीको माध्यमवाट दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार,परिपत्र र निर्णयका लागि माथिल्लो निकायहरुमा पेश गरिने कागजातहरु स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन। विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले स्वचालित प्रणालीकोे आरम्भ गरिएको विश्वविद्यालयले जनाएको छ ।
यसअघि त्रिवि केन्द्रीय कार्यालयमा मिति २०८०।०४।०१ बाटै कार्यान्वयमा रहेको उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकायहरु संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयमा रहेको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले स्वचालित प्रणालीको विधिवत शुभारम्भ गर्दै सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीवाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गर्नुभएको थियो। स्वचालित प्रणालीको उद्घाटन पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुँदै उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले त्रिविलाई कागजविहिन प्रशासनको रुपमा स्तरोन्नती गर्ने आफ्नो महत्वपूर्ण लक्ष्य पुरा भएको बताउनुभएको थियो ।
उहाँले प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकोले सेवा प्रणालीलाई थप व्यवस्थित,सृदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने अपेक्षा समेत व्यक्त गर्नुभयो। अत्याधुनिक प्रविधिको प्रयोगलाई वढावा दिई तीव्र गतिको इन्टरनेट सुविधा समेत व्यवस्था गरी सेवाग्राहीलाई छिटो छरितो सेवा मार्फत सन्तुष्ट बनाउन समेत उहाँले निर्देशन दिनुभयो।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कार्यालय स्वचालित प्रणालीको कार्यान्वयनलाई महत्वपूर्ण प्रशासनिक उपलब्धी भएको भन्दै व्यवस्थित, सरल र समयानुकुल सेवाका माध्यामवाट त्रिविप्रतिको नकरात्मक धारणा परिर्वतन गर्र्नुपर्ने बेला आएको भन्दै सवै संयन्त्रहरुलाई सक्रियतापूर्वक विद्युतीय प्रणालीको प्रयोग गरी समयमै सवैप्रकारका सेवा दिने वातावरण मिलाउन त्रिवि क्रियाशिल रहेको बताउनुभएको थियो ।
त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले प्रशासनिक जिम्मेवारीमा आवद्ध कर्मचारीहरुमा प्रविधिसम्वन्धी ज्ञान अत्यावश्यक र अपरिहार्य भइसकेको र इच्छाशक्ति भएमा सवै शिक्षक कर्मचारीहरुले प्राविधिक सीप सिक्न सक्ने बताउनुभयो । आफूहरु विश्वविद्यालयमा प्रविधिको प्रयोग वढाउदै लैजाने पक्षमा रहेको र सवै शिक्षक कर्मचारीहरुले आफूलाई समयानुकुल र परिष्कृत हुन तयार रहन समेत अनुरोध गर्नुभएको थियो ।
त्रिविले सञ्चालनमा ल्याएको कार्यालय स्वचालित प्रणालीको निर्माण सफ्टेक इन्फोसिस प्राइभेट लिमिटेडले गरेको हो। प्रा.लिका प्रवन्धक टिकाराम दाहालले दर्ता,चलानी,टिप्पणी र परिपत्र समेत गर्न मिल्ने स्वचालित प्रणालीमा फाइलहरु एकआपसमा अनुवन्ध गर्न मिल्ने र कसरी फाइलहरु एक निकायवाट अर्को निकायमा प्रेषित गरिएको छ भन्ने समेत जानकारी लिन सकिने व्यवस्था रहेको बताउनुभयो । उक्त प्रा.लिले तयार गरेको कार्यालय स्वचालित प्रणाली हाल नेपाल सरकार र स्थानीय सरकारका ५ सय वटा कार्यालहरुमा सञ्चालन भइरहेको छन ।
मिति २०८०।०५।१८ देखि सञ्चालित तालिममा हालकर्मचारी प्रशासन महाशाखा, आर्थिक प्रशासन महाशाखा र कर्मचारी प्रशासन महाशाखाका ३० जना कर्मचारीहरु तालिममा सहभागि भएका छन् भने केन्द्रीय कार्यालय लगायतका अन्य निकायहरुका कर्मचारीहरुलाई क्रमश तालिममा सहभागी गराइने भएको छ । कार्यक्रमको संञ्चालन तथा संयोजन समन्वय महाशाखाका निमित्त प्रमुख दिपक तिवारीले गर्नुभएको थियो ।