शनिवार, भाद्र २३ २०८०
भदौ, २३ काठमाडौ । जाजरकोटको कुशे गाउँपालिका नेपालकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच पालिकाले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन पालिका घोषणा गरिएको हो ।

“अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा, कुशे बासीहरुको इच्छा” भन्ने मुल नाराका साथ भएको घोषणा कार्यक्रममा विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । कुशे गाउपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गाउँपालिका घोषणा गरि प्रभावकारी कार्यन्वयनका लागि १२ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन।
यस संगै घर, समुदाय र समाजमा बालबालिकाहरु माथी कुनै पनि प्रकारको हिंसा नगर्ने कुरामा सबै अभिभावहरुले समेत प्रतिवद्धता गरेको गाँउपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनकबहादुर शाहले बताए।
अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि.सं २०८५ सम्म सबै नागरिकलाई आधारभूत तह सम्मको शिक्षामा पहुँच पुर्याउने व्यवस्था उल्लेख गरिएको छ । कुशे गाउँपालिकाका ४ देखि १२ बर्ष उमेर समुहका सवै बालबालिका विद्यालयको पहुँचमा आएका छन् । प्रारम्भिक बालविकास देखी कक्षा ८ सम्म जम्मा ७ हजार ४ सय ८४ जना सवै बालबालबालिकाहरुलाई कुशे गाउँपालिकाले अनिवार्य तथा निः शुल्क शिक्षा प्रदान गरिरहेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । त्यसैगरी विद्यालयको पहुँच बाहिर रहेका ९६ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिएको, अपाङगता भएका ९ जना बालबालिकाहरुलाई घरमै विद्यालय शिक्षा कार्यक्रम संचालन गरिएको, ८ जना अपाङगता भएका बालबालिकाहरुलाई जिल्ला भित्र र जिल्ला बाहिरका स्रोत विद्यालयहरुमा पढ्ने सुनिश्चितता गरिएको छ ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले घोषणा पत्र, निमित्त प्रमुख प्रशासकिय अधिकृत लालभक्त शाहीले प्रगति विवरण र शिक्षा शाखा प्रमुख जनकबहादुर शाहले कार्यप्रगति विवरण पेश गरेका थिए । कार्यक्रममा अभियानलाई सहयोग गर्ने सरोकारवालाहरुलाई कदरपत्र द्धारा सम्मान गरिएको थियो ।
