मंगलवार, आश्विन ९ २०८०
असोज, ९ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुको ग्रेड निजामती कर्मचारी सरह बनाउने प्रक्रिया थालेको छ। अर्थ मन्त्रालयलाई पत्र लेख्दै शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन पत्राचार गर्दै शिक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको हो।
२०८० असोज ५ गते शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको संझौता अनुसार बुँदा नं. ३ (घ) मा विद्यालयका शिक्षकले पाउने ग्रेड समायोजन सम्बन्धी विषय उल्लेख भएकोले भन्दै कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन आग्रह गरेको छ ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले पठाएको पत्रमा भनिएको छ ‘संघीय संसद सचिवालयमा दर्ता गरिएको “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक“ का सम्बन्धमा नेपाल शिक्षक महासंघले प्रेस विज्ञप्तीमार्फत अघि सारेका अठार बुँदे माग बारे माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित वार्ता समितिका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघवीच मिति २०८०/०६/०५ गते भएको संझौता अनुसार बुँदा नं. ३(घ) मा विद्यालयका शिक्षकले पाउने ग्रेड समायोजन सम्बन्धी विषय उल्लेख भएको हुँदा सो विषय कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन त्यहां मन्त्रालयमा अनुरोध गर्ने भनी मिति २०८०/०६/०८ मा (माननीय मन्त्रीस्तरीय) बाट निर्णय भएको हुँदा निर्णयानुसार हुन निर्णयको प्रतिलिपि र संझौता पत्रको प्रतिलिपि यसैसाथ संलग्न राखि पठाइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’

