शुक्रवार, आश्विन १९ २०८०
असोज, १९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ (नेबिसंघ) को तालाबन्दीका कारण आज बिहानका लागि तोकिएको शिक्षकहरुको अन्तर्वार्ता स्थगित भएको छ । तालाबन्दीका कारण आज बिहान १० बजेदेखि हुने भनिएको उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदको अन्तर्वार्ता स्थगित भएको हो ।
त्रिवि समितिले विगतमा विवादास्पद परीक्षा र मूल्याङ्कनका विषयमा आवश्यक छानबिन नगरी अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढ्न खोजेको भन्दै तालाबन्दी गरेको नेविसंघले जनाएको छ ।
त्यस्तै नेविसंघले आयोगका अध्यक्ष प्राडा घनश्याम भट्टराई र सदस्य प्राडा हेमराज ढकाललाई विश्वविद्यालय प्रवेशमा नै निषेध गरेको छ । अदालतमा विचाराधीन अवस्थामा रहेको विज्ञापनको प्रक्रिया अगाडि बढाउन खोजेको तथा अर्कोतिर अपारदर्शी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप लगाउदै भट्टराई र ढकाललाई प्रवेश निषेध गरेको जनाएको छ। नेबिसंघले विगतमा गरिएका विज्ञापनमा भएको अपारदर्शिता र अनियमितताका विषयमा छानबिन गरेर मात्रै नयाँ प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेको छ।
यसअघि त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगले खोलेका कर्मचारीतर्फका विभिन्न विज्ञापन र शिक्षकतर्फको विभिन्न पदको परीक्षाबारे अदालत, अख्तियार लगायतका निकायमा मुद्दा चलिरहेको छ । यस्तो अवस्थामा आयोगले थप प्रक्रिया अगाडि बढाउन खोजेको भन्दै त्यसमा ठुलो आर्थिक चलखेल समेत हुने गरेकोले त्यसलाई रोक्न तालाबन्दी र प्रवेश निषेध गरिएको बताइएको छ।
लामो समयदेखि सेवा आयोगको अध्यक्ष नियुक्ति हुन सकेको थिएन । गत साउन ३० गते त्रिवि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेका थिए । अध्यक्ष नियुक्त भएपछि विगतमा रोकिएका विज्ञापनको भर्ना प्रक्रिया अगाडि बढाएका थिए ।