बुधवार, कार्तिक १ २०८०
कार्तिक, १ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयले १२ वटा आंगिक क्याम्पसहरुलाई नयाँ कार्यक्रम संचालनको अनुमती दिएको छ। बिश्वबिद्धालयले आफ्नो पुराना कार्यक्रममा विद्यार्थी आकर्षण घट्दै गएपछि केही नयाँ कार्यक्रम विस्तार गर्ने गरी अनुमति दिएको हो।
त्रिविले बजार माग बढी भएका आईटी, बीएससीसीएसआईटी, बीबीए, बीबीएस, बीआईएमलगायतका कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको विश्वविद्यालयले जनाएको छ। त्यसैगरी त्रिभुवन बिश्वबिद्धालयले प्राज्ञिक परिषद्ले मानविकी संकायको स्नातकोत्तर तहमा योग विज्ञान विषय अध्यापनको लागि स्वीकृति दिएको छ भने गभर्नेन्स एन्ड एन्टीकरप्सन स्टडिज कार्यक्रमको नाम पब्लिक पोलिसी गभर्नेन्स एन्ड एन्टीकरप्सन स्टडिज बनाइएको परिषद् कार्यालय प्रमुख यमन बोहराले जानकारी दिए ।
बिश्वबिद्धालय परिषद्ले महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, मेची बहुमुखी क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरलाई बीएससी–सीएसआईटी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरलाई बीआइटी, डिग्री क्याम्पस विराटनगरलाई बीआईटी र बीबीए, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बीआईटी, पाटन संयुक्त क्याम्पसमा बीबीएम, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा बीआईसीटी कार्यक्रम सञ्चालन अनुमति दिएको छ । त्यसैगरी पद्यकन्या क्याम्पसमा लैंगिक अध्ययन, भक्तपुर बहुमुखी क्याम्पसमा बीएसडब्लु, अमृत क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, पद्यकन्या क्याम्पसमा एमआइटी, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मास्टर इन पावर इलेक्ट्रोनिक्स एन्ड ड्राइभ्स इन्जिनियरिङ, नेपालगञ्ज क्याम्पसमा, त्रिभुवन क्याम्पस पाल्पामा बीसीए, जुम्ला क्याम्पस जुम्लामा एमबीएस अध्यापन अनुमति पाएको छ ।
परिषद्ले सरस्वती क्याम्पस काठमाडौंमा स्नातक तहमा पत्रकारिता र ग्रामीण विकास, स्नातकोत्तरमा हाइड्रोलोजी र मेटोरोलोजी विषय थप गरेको छ । धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङमा स्नातकोत्तर तहमा अंग्रेजी र गोरखा क्याम्पस गोरखामा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनको अनुमति दिएको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता भएका क्यूएए प्राप्त पब्लिक क्याम्पसहरुलाई पनि आवश्यकता र माग अनुसार नयाँ विषय सञ्चालनका लागि अनुमति दिने त्रिविको तयारी रहेको त्रिवि स्रोतले जानकारी दियो ।