शनिवार, कार्तिक ११ २०८०
कार्तिक, ११ काठमाडौं । त्रिभुवन बिश्वबिद्धालयको केन्द्रिय पुस्तकालय अब चौविसै घण्टा खुल्ने भएको छ। सबैले जुनसुकै समयमा अध्ययन गर्न पाउने गरी त्रिभुवन विश्वविद्यालयले केन्द्रीय पुस्तकालय हप्तामा सातै दिन र चौबीसै घण्टा सञ्चालन गर्न थालेको हो।
उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीमा पढ्ने बानी कम हुँदै गएको र उत्तीर्ण प्रतिशतमा समेत असर परेको भन्दै विश्वविद्यालयले पठन संस्कृति र अनुसन्धानमा वृद्धि होस् भने उद्देश्यले केन्द्रीय पुस्तकालय सातै दिन चौबीसै घण्टा सञ्चालनमा ल्याएको जनाइएको छ।
यस अघि विद्यार्थीहरुले पुस्तकालय २४ सै घन्टा खोल्नुपर्ने भन्दै आवाज समेत उठाएका थिए भने स्वबियु र विद्यार्थीहरुले केहिदिन चौविसै घण्टा समेत खुला गरेको थियो। त्यस बेला पढ्ने विद्यार्थीहरुको चाप समेत उल्लेख्य बढेको थियो।
सार्वजनिक बिदाको दिन र साँझ-बिहानको समयमा पुस्तकालय बन्द हुँदा अध्ययन गर्न नपाउने समस्या भएको भन्दै पुस्तकालय २४ सै घण्टा खोलिने बताइएको छ । ज्ञानको भण्डार पुस्तकालयमा विद्यार्थीको ज्ञान, शिक्षा र अनुसन्धानमा थप वृद्धिका लागि धेरै मद्दत गर्दछ।
हाल पुस्तकालयमा विश्वविद्यालयमा अध्ययन हुने सबै विषयका पुस्तक र सन्दर्भ सामग्रीसहित बाह्य महत्वपूर्ण पुस्तक तथा ग्रन्थ गरी ४ लाख ३० हजार पुस्तक छन् । पुस्तकालयमा ९७ कर्माचारी दरबन्दी रहे पनि हाल ३० जना मात्र कार्यरत छन् ।