बुधवार, मंसिर २७ २०८०
मंसिर, २७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (IOE) मा अहिले स्नातक तह प्रथम बर्षमा भर्ना चलिरहेको छ। केही बौद्धिक ब्याक्ती तथा मिडियाहरु बिश्वबिद्धालय धरासाही भन्दै निरन्तर रोइलो गरिरहेको छन।
हाल स्नातक तहमा भर्ना चलिरहेको सन्दर्भमा बिश्वबिद्धालयमा विद्यार्थी घटेको कुरा स्वभाविक छ । तर जसरी प्रचार गरिदै छ त्यो भित्रको नियतमा भने अवस्य कुनैनकुनै षडयन्त्र पक्कै छ। केही दिन अगाडि बिश्वबिद्धालय प्रतिको गोरखापत्रको हेडलाइको नियत बिश्वबिद्धालय सुधिरियोस भन्ने अवस्य छैन। राजनीतिक र ब्यबस्थापकिय गंजागोलमा चलिरहेको बिश्वबिद्धालयहरु आफ्नो अस्तित्वको खोजिमा भने अवस्य छन।
बिश्वबिद्धालयको बारे आजभोली सकारात्मक धारणा किन आउदैनन्? के बिश्वबिद्धालय साँच्चिकै धरासायी भएकै हो? के अब सुधार्न सक्ने आधार छैन? त्यो अवस्य होइन । तर केही ब्यपारिक बुद्धिजीवी वा बिज्ञहरु नेपालका युवाहरु नेपालमा बसुन भन्ने चाहदैनन् । उनिहरु आफ्नो ब्यबसाय फस्टाउन कुनै पनि अवस्थामा युवा विद्यार्थीहरु बिदेश पठाउने जालो बुन्ने अपराधिक गतिविधि संलग्न छन । साथै नेपालमा कन्सल्टेन्सी खोलेका केही शैक्षिक माफियाहरु नेपालको बिश्वबिद्धालय राम्रो भएको हेर्नै चाहादैनन्। त्यिनिहरुको एक सुत्रीय एजेन्डा भनेको कक्षा १२ पछि कसरी हुन्छ विद्यार्थीहरुलाई बिदेश पठाउने हो। त्यो ध्येय सहित लागेकाहरुको प्रलोभनमा केही कथित बिज्ञ समेत लागि परेको कुरा सत्य हो।
त्यसै सन्दर्भमा विद्यार्थीहरुलाइ अझ बढी हतोत्साहित बनाउन र नेपालमा शैक्षिक अवस्था धरासायी हुन थाल्यो भन्ने माहोल निर्माण गर्न कौयौ षड्यन्त्रहरु भैरहेको छन्। त्यस्तो समुहले त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका पाँच आंगिक कलेज र १० सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी अभाव भएको र कलेजहरूले इन्जिनियरिङतर्फ विद्यार्थी पाउनै छाडेको बताउने गरेका छन्। त्यस्तो समुहले 'देशभरका इञ्जिनियरिङ कलेजहरूमा खाली सिट देखाएर विद्यार्थीहरुको मनोबिज्ञान बिगार्ने र बिदेश नै ठिक भन्ने बनाउने माहोल निर्माण गरिरहेका छन। जुन अत्यन्तै अपराधीक छ।
त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान (आइओई) का डिन शशीधरराम जोशीले इञ्जिनियरिङ कलेजहरूमा विद्यार्थी भर्ना प्रक्रिया जारी नै रहेको बताए। उनले त्रिविका आंगिक र सम्बन्धन प्राप्त गरी कूल १५ वटा इञ्जिनियरिङ क्याम्पसमा भर्ना जारी रहेको र अझै एक महिनासम्म विद्यार्थीले भर्ना हुन पाउने बताए।
पुल्चोक क्याम्पस, चितवन क्याम्पस, नेसनल कलेज अफ इञ्जिनियरिङ, पूर्वाञ्चल क्याम्पस, ख्वपः कलेज अफ इञ्जिनियरिङ, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, काठमाडौं इञ्जिनियरिङ कलेज, सगरमाथा इञ्जिनियरिङ कलेज, एड्भान्स कलेज अफ इञ्जिनियरिङ, काठफोर्ड इन्टरनेसनल कलेज अफ इञ्जिनियरिङ, हिमालय कलेज अफ इञ्जिनियरिङ, ललितपुर इञ्जिनियरिङ कलेज, कान्तिपुर इञ्जिनियरिङ कलेज र जनकपुर इञ्जिनियरिङ कलेजमा विद्यार्थी भर्ना जारी छ।
कात्तिक १४ गतेदेखि २० गतेसम्म भएको प्रवेश परीक्षामा करिब ८ हजार विद्यार्थी सहभागी रहे। विद्यार्थीले हासिल गरेको मेरिटका आधारमा भर्ना लिइन्छ। विद्यार्थीले धेरै क्याम्पसमा प्रवेश परीक्षा दिन्छन् तर पायक पर्ने कलेजमा पढ्ने गर्छन्। इञ्जिनियरिङ अध्ययन संस्थानले सबै कलेजहरूमा विद्यार्थी भर्नाका लागि केन्द्रीकृत भर्ना अनुगमन समिति पनि बनाएको छ। विद्यार्थी भर्नाबारे कार्यविधि पनि छ। कार्यविधिअनुसार सबै क्याम्पसले विद्यार्थी भर्नाका विवरण अनलाइनमा राख्छन्। यही मंसिर ७ गतेदेखि क्याम्पसहरूले (बिई/बिआर्क) मा भर्ना लिइरहेका छन्।
'हामीले विद्यार्थी भर्ना सूची १२ औं पटकसम्म पनि निकाल्ने गरेका छौं। मंसिर २४ गते तेस्रो भर्ना सूची निकालिएको छ,' डिन जोशीले भने, 'भर्ना सूची पूरै ननिकालेसम्म सिटअनुसार विद्यार्थी भर्ना भएनन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन।' अन्तिम भर्ना सूची निस्केपछि मात्रै सिटअनुसार विद्यार्थी भर्ना भए कि भएनन् भन्ने निष्कर्ष निकाल्न मिल्ने उनले बताए।
'अहिले बल्ल तेस्रो भर्ना सूची निकालिएको छ। दसौं, बाह्रौंसम्म सूची निकालेको विगतको अनुभव छ,' उनले भने, 'अझै साढे एक महिना भर्ना प्रक्रिया जान सक्छ। हाम्रो वेबसाइटमा भर्ना पुस्तिका २०८० भन्ने छ, त्यसमा आइओईको भर्ना प्रक्रियालगायत सबै लेखेको छ।'
हिजोआज सामाजिक सञ्जालमा सिट अनुसार इञ्जिनियरिङ पढ्न विद्यार्थी भर्ना भएनन् भन्ने झल्काउने तथ्यांकमा सत्यता नभएको भन्दै डिन जोशिले भने 'भर्ना प्रक्रिया चलिरहेको छ, अझै साढे एक महिना चल्छ। अनि अहिले नै विद्यार्थी भर्ना हुन आएनन् भनेर निष्कर्ष निकाल्न मिल्छ? 'सामाजिक सञ्जालमा जे पनि लेखिदिन्छन् भन्दै त्यसमा सत्यता नभएको बताए।
क्याम्पसहरूमा विभिन्न विषयमा इञ्जिनियरिङ पढाइ हुने र विगतमा पनि कुनै विषयमा एक, दुई सिट खाली हुने देखिएको बताए। 'यसपालि सबै सिटमा विद्यार्थी भर्ना हुन्छन् कि हुँदैनन् भन्ने पूरै भर्ना प्रक्रिया सकेपछि मात्र भन्न सकिन्छ,' उनले भने, 'गत वर्ष पनि कुनै-कुनै विषयमा पूरै सिट भर्ना भएको थिएन।'
यसै सन्दर्भमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस स्ववियु सभापति विराज अर्यालले पनि पूरै भर्ना सूची नआएसम्म विद्यार्थी घटे भन्न नमिल्ने बताए। उनले भने 'बल्ल तेस्रो भर्ना सूची आएको छ। तेस्रो भर्ना सूचीसम्म यसअघि पनि सिटअनुसार विद्यार्थी भर्ना भएका थिएनन्। त्यसैले चौथो, पाँचौं गर्दै भर्ना सूची खोलिने गरिएको थियो,' उनले भने, 'भर्ना प्रक्रिया अझै केही समय जारी रहन्छ, बिस्तारै सिट भरिन्छ।' विद्यार्थीहरूमा सूचना प्रविधि, कम्प्युटर लगायतमा रूचि देखिएकाले केही विषयमा भने विद्यार्थी घट्न सक्ने उनले बताए।
सभापति अर्यालले 'विद्यार्थीको रूचि आइटीतर्फ धेरै हुँदा त्रिविका सिभिल इञ्जिनियरिङ संकायमा विद्यार्थी कम हुन्छन् कि भन्ने मात्रै चिन्ता हो। भर्ना हुने विद्यार्थी कम भएका होइनन्, प्रवेश परीक्षाका प्रतिस्पर्धी विगतका भन्दा केही कम भएका हुन्,' उनले भने।
आइओईको भर्ना तथ्यांकअनुसार बुधबारसम्म पुल्चोक क्याम्पसमा ६२४ सिटमध्ये ३० मात्रै खाली छ। ४३२ सिट रहेको थापाथलीमा १०८ खाली छ। त्यस्तै ४३२ सिट रहेको पश्चिमाञ्चलमा ११९ र ५२८ सिट क्षमता रहेको पूर्वाञ्चलमा १०१ सिट खाली छ।
३८४ सिट रहेको काठमाडौं इञ्जिनियरिङमा १५५ सिट खाली छ। २८८ सिट रहेको कान्तिपुरमा २२७ र १४४ सिट रहेको सगरमाथामा ६५ सिट खाली छ। उता ३३६ सिट रहेको एड्भान्समा १६६ र २४० सिट रहेको हिमालयमा १४१ सिट खाली छ। त्यस्तै २४० सिट रहेको नेसनलमा ३३ सिट खाली छ।
साथै ९६ सिट रहेको ललितपुरमा ६३ र १९२ सिट रहेको काठफोर्डमा १११ सिट खाली छ। १९२ सिट रहेको जनकपुरमा १७१ सिट खाली छ भने १९२ सिट रहेको ख्वपःमा ४३ र २४ सिट रहेको चितवनमा २ सिट मात्र खाली रहेको आइओईको तथ्यांकले देखाउँछ।
निजी र सरकारी गरेर १५ वटा इञ्जिनियरिङ कलेजसँग जम्मा चार हजार ३ सय हाराहारी विद्यार्थी पढाउने क्षमता छ। जबकि यी कलेजमा भर्ना हुन ८ हजार बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्। यसले पनि भर्ना प्रक्रिया नै पूरा नभइकन इञ्जिनियरिङ कलेजहरूले विद्यार्थी पाएनन् भन्नु तथ्यसंगत नभएको देखाउँछ।
त्यस्तै केमिकल, मेकानिकल, सिभिल, अटोमोबाइल, इलेक्ट्रिकल, एग्रिकल्चर, इलेक्ट्रोनिक कम्युनिकेसन र कम्प्युटर इञ्जिनियरिङ विषयका धेरै सिटमा विद्यार्थी भर्ना हुन बाँकी रहेको तथ्यांकले देखाउँछ।
त्यसैगरी त्रिविका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले पनि अहिले नै इञ्जिनियरिङतर्फ सिटअनुसार विद्यार्थी भर्ना भएनन् भन्न नमिल्ने बताए। उनले 'अहिले भर्ना चलिरहेको छ। भर्खर तेस्रो सूची बल्ल प्रकाशित भएको छ, १२ औं सूचीसम्म जान्छ। हामीले अहिले सिट खाली देखाउनुको अर्थ भनेको विद्यार्थीलाई यो-यो कलेजमा खाली छ है भनेर भनिदिएको हो,' उनले भने, 'खाली भएको भन्नाले सिटअनुसार विद्यार्थी नआएको भन्ने गलत बुझाइ भयो। त्यो होइन।'
त्यसैगरी सहायक डिन बज्राचार्यले भदौ २५ मा हुने प्रवेश परीक्षा कात्तिकमा भएर डेढ महिना ढिला भएको र फाराम भर्ने १० हजार मध्ये ८ हजारले परीक्षा दिएको भन्दै सिट संख्याको १.५ गुणा बढी विद्यार्थी पास भएको बताए। उनले भने ‘आइओईलाई बदनाम गरेर नेपाली विद्यार्थी विदेश पठाउने सेटिङमा केही तत्व लागिपरेका छन्। यसको मारमा हाम्रा शैक्षिक संस्थानहरू पर्दैै गएका बताए।
त्यसैगरी त्रिभुवन बिश्वबिद्धालयका सभापति सुरेन्द्र ओझाले लेखेका छन, 'त्रि. वि को इन्जिनियरिङ अध्ययन सस्थानमा विद्यार्थी भर्ना हुन नआएको, सिट रिक्त रहेकोे भ्रमपुर्ण खबर हिजोदेखि आइरहेको छ। यो सत्य होइन, Merit-based भर्ना गर्दा लिस्टहरु निकाल्न ढिलो भएको हो। TU को इन्जिनियरिङ South-Asia को उत्कृष्ट मानिन्छ, त्यसैले प्रहार गरिएको हो। त्रि. वि. को आधिकारिक निकायले बोल्नुपर्दैन यो भ्रमबारे?' यस बारे सभापती ओझालाई सत्यतथ्य के हो भनी बुझ्दा बिश्वबिद्धालयलाई कमजोर बनाउन तेस्तो समाचारहरु बाहिर आएको बताए।